Breaking News
सवारी दुर्घटनाबाट कलिलैमा ज्यान गुमाउँदै युवा

चितवन, भदौ १४–
भरतपुर महानगरपालिका–२का २८ वर्षिय डा.विप्लव भट्ट शुक्रबार राती घरतर्फ जाँदै थिए । विशालचोकमा पुग्दा कारमा सवार भट्ट एक्कासि रुखमा ठोक्किन पुगे । गम्भिर घाइते भएका डा.भट्टको अस्पताल पुगेको केही घण्टामै निधन हुन पुग्यो ।
उत्ता असार २६ गते राप्ती नगरपालिका–२का १६ वर्षिय सोहम तामाङ साथीसँग साइकल पछाडि बसेका थिए । राप्तीको गाड्यौली स्थित पुर्व पश्चिम राजमार्गमा उनीहरुलाई मोटरसाइकलले पछाडिबाट ठक्कर दियो । तामाङको घट्ना स्थलमै निधन हुन पुग्यो भने अन्य तीन जना गम्भिर घाइते भए ।
डा. विप्लव भट्ट र सोहम तामाङ सवारी दुर्घटनामा ज्यान गुमाउने युवा प्रतिनिधि पात्र मात्र हुन् । चितवन जिल्लामा सवारी दुर्घटनाबाट कम उमेरका मानिसहरूको मृत्युदर उल्लेख्य वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पाँच वर्षको अवधिमा सवारी दुर्घटनाबाट २५ वर्ष मुनिका १ सय ४७ जनाको मृत्यु भएको छ । त्यसमध्ये पनि १६ देखि २५ वर्ष उमेर समुहका १ सय १८ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।
‘चितवनमा मोटरसाइल र कार दुर्घटना बढ्दो अवस्था छ । विशेषगरी टिन एजका मानिसहरु यसमा परेका छन्,’ उनले भने ‘अधिकांश दुर्घटना तिब्र गतिका कारण भएको देखिन्छ ।’ आर्थिक वर्ष २०७७÷२०७८ देखि हालसम्म १६ वर्ष मुनिका २८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको उनले जानकारी दिए ।
आ.व. २०७७/२०७८सालदेखि हालसम्म जिल्लामा २ हजार ८ सय ३३ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ५ सय ८७ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा पुरुषको संख्या अधिक छ । यो अवधिमा ४ सय ६७ जना पुरुषले सवारी दुर्घंटनाबाट ज्यान गुमाएका छन् । यस्तै महिला ९१, बालक ३० र ७ जना बालिकाको ज्यान गएको छ ।
पछिल्लो पाँच वर्षको अवधिको तथ्यांक केलाउँदा गत आर्थिक वर्ष २०८१/२०८२मा चितवनमा सबैभन्दा बढी १ हजार ५० सवारी दुर्घटना भएको देखिन्छ । सो दुर्घटनामा परी १ सय २० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । पछिल्लो पाँच वर्षको अवधिमा मृत्युको संख्या घटबढ देखिन्छ । आ.व. २०७७/२०७८मा सवारी दुर्घटनाबाट १ सय २८ जनाको मृत्यु भएको थियो । आ.व. २०७८/२०७९मा १ सय ४० जनाको मृत्यु हुँदा त्यसको अर्को वर्ष आ.व.२०७९/२०८०मा आउँदा सवारी दुर्घटनाको मृत्युदर घटेर ७८ मा झ¥यो । फेरी त्यसको अर्को वर्ष आ.व.२०८०/२०८१मा सवारी दुर्घटना बढेर १ सय १५ जनाको मृत्यु हुन पुग्यो । चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा ६ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो पाँच वर्षको अवधिमा सवारी दुर्घटनामा परी १ हजार ७१ जना गम्भिर घाइते भएका छन् भने ४ हजार २४ जना सामान्य घाइते भएको ट्राफिकको तथ्यांकमा उल्लेख छ । चितवनमा पाँच वर्षको अवधिमा सबैभन्दा बढी २ हजार २ सय ३४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यसपछि ५ सय ६४ वटा दुर्घटना जिप कार, ट्रक टेक्टर ४ सय ४५, बस २ सय ५४, टेप्पो १ सय ४७, ट्याक्टर ९८, माइक्रो ५७ र टिपर ५१ वटा दुर्घटनामा भएका छन् ।
चितवन वागमती प्रदेशमै सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला समेत हो । यहाँ सडकहरु फराकिला भएपनि दुर्घटना भने बढिरहेको ट्राफिक प्रमुख शर्माले बताए । ‘चितवनमा सडक राम्रै छन् । यहाँ यात्रुले पनि लापरबाही तरिकाले सवारी साधान चलाएको पाइन्छ,’ उनले भने ‘सवारी चापको कारण पनि सवारी दुर्घटना बढी भएको हुन सक्छ ।’ सडक, सवारी साधन, चालक, जंगली जनावरका कारण पनि सवारी दुर्घटना बढ्ने गरेको उनले बताए ।
























