चितवन विशेष
थारु पत्रकार संघ चितवनको अध्यक्षमा मनोज

चितवन, भदौ १५–
थारु पत्रकार संघ चितवनको अध्यक्षमा मनोज चौधरी (अज्ञात) चौधरी चयन हुनुभएको छ। माडीको बसन्तपुरमा सम्पन्न पाचौँ जिल्ला अधिवेशनबाट मनोजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा उपाध्यक्षमा दीपेन्द्र चौधरी, सचिवमा राकेश चौधरी, सह–सचिवमा विन्दा चौधरी र कोषाध्यक्षमा प्रमिला चौधरी चयन भएको निर्वाचन समितिका संयोजक सन्तकुमार चौधरीले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा सुरेशकुमार चौधरी र रविन्द्र राउत चयन हुनुभएको छ । नयाँ समितिको कार्यकाल तीन वर्षको रहने छ ।
अधिवेशनको समुद्घाटन सत्र माडी नगरपालिकाकी प्रमुम तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष दीपेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषाल, थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङ, थाकसकी पार्षद चन्द्रकुमारी चौधरी, होटल व्यसायी कृष्ण महतोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पत्रकार राजु चौधरी सम्मानित
थारु पत्रकार संघले संस्थाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पत्रकार राजु चौधरीलाई सम्मान गरेको छ । थारु समुदायबाट प्रतिनिधित्व गर्दै विगत लामो समयदेखि चितवनको पत्रकारितामा सक्रिय रहेको भन्दै सम्मान गरिएको संघले जनाएको छ । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको हातबाट चौधरीलाई सम्मानपत्र र खादामार्फत सम्मान गरिएको हो । कान्तिपुर टेलिभिजनका चितवन सम्वाददातासमेत रहेका चौधरी नारायणी अनलाइन सञ्चालन गर्दै आएका छन् ।

सोही क्रममा संस्था सञ्चालनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाका तत्कालीन सचिव दीपेन्द्र चौधरी र सदस्य विजय चौधरीसमेतलाई पनि सम्मान गरिएको थियो । अधिवेशनका क्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका आमा समूहहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
























