चितवन विशेष
देवघाटमा पौडी खेल्नेक्रममा भरतपुरका एक बालक बेपत्ता, एकको सकुशल उद्धार

भरतपुर, भदौ १०-
देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन् भने भरतपुर –१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो ।
प्रहरी नायब उपरीक्षक अशोक थापाले बालक लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर –१५ फूलबारीका १३ वर्षीय ढकालको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले वेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिरहेको छैन ।”
























