Breaking News
तिजमा पशुपतिका चारै ढोका खुला गरिने, बिहान ३ बजेदेखि दर्शन गर्न सकिने

काठमाठौं,भदौ ८-
यस वर्षको तिज मंगलबार (भदौ १० गते) देशभर मनाइँदै छ । तिजका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पूरा गरेको छ । कोषका अनुसार, तिजको अवसरमा भदौ १० गते बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिनेछ ।
गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गर्न सकिनेछ । त्यस्तै, जयबागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
एयरपोर्टतर्फबाट आउने भक्तजनले पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट पशुपतिनाथको मन्दिर प्रवेश गर्न सकिनेछ । बत्तीसपुतली–गौशालातर्फबाट पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, सदावर्त सत्तल, तिलगंगा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए । भक्तजनले आधा घण्टाभित्र दर्शन गरेर फर्किसक्ने व्यवस्था मिलाइएको कोषको दाबी छ । यसको सहजीकरणका लागि स्वयंसेवक र कर्मचारी परिचालन गरिनेछ ।
























