Breaking News
रविलाई भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ

काठमाडौं,भदौ ४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भैरहवा कारागारमा रहँदा धेरै पीडा पाएको टिप्पणी गरेका छन् । उक्त पीडा रविको अनुहारमा प्रस्ट देखिएको र उनको शरीर पनि दुब्लाएको प्रचण्डले बताए ।
नख्खु कारागार पुगेर बुधबार लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग प्रचण्डले भने, भैरहवामा नाजुक अवस्था रहेछ । यहाँ आएपछि सुधार हुँदै छ । उहाँ दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ । प्रचण्डका अनुसार लामिछानेले भैरहवा कारागारको तुलनामा नख्खुमा अवस्था राम्रो भएको बताएका थिए । भेटका क्रममा लामिछानेले सत्ता गठबन्धनका दलहरूले गरेको प्रतिशोधका कारण आफू र रास्वपालाई राजनीतिक फाइदा भएको निष्कर्ष सुनाएका थिए ।
कांग्रेस–एमालेले रविमाथि जसरी व्यवहार गरेका छन्, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभर फाइदा पुगेको रहेछ भन्ने उहाँको बुझाइ रहेछ, प्रचण्डले भने । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछाने दुईपटक गृहमन्त्री बनेको स्मरण गर्दै आजको भेटलाई अभिभावकत्वको आधारका रूपमा लिएको बताए ।
लामिछानेले अदालतले तोकेको बिगो बुझाउँदा पनि सुविधा नपाएको गुनासो प्रचण्डलाई सुनाएका थिए । कमसेकम अदालतले तोकेको बिगो बैंक धरौटी राखेर मुद्दा लड्न दिन्थे कि भन्ने उहाँको गुनासो थियो । सरकार र गठबन्धन मप्रति यति धेरै अनुदार र विभेदकारी किन भए भन्ने उहाँको प्रश्नलाई सबैले गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ, प्रचण्डले भने ।
























