Breaking News
ओलीको कटाक्ष- सरकार ढल्दै नढलेपछि त्यति रुचि छैन पनि भन्न भ्याइहाल्ने

काठमाडौँ, साउन २८-
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई अस्थिरता कति अप्रिय हो भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कांग्रेस र एमालेमात्रैको भारती बहुमत रहेको बताए।
‘हाल विपक्षमा रहेका दलहरुलाई स्थिरता कति अप्रिय लागेको हो ?,’ ओलीको प्रश्न छ, ‘प्रमुख दल कांग्रेस र एमालेको मात्रैको संसद्मा भारी बहुमत छ। त्यसमाथि अन्य दलहरू समेत यो सरकारमा सामेल छन्।’
सरकार संसद्को गणितले बनाउने भन्दै त्यो नढल्ने भएपछि सरकारतिर रुचि छैन भनेको भन्दै कटाक्ष समेत गरे। ‘सरकार बनाउने संसदको गणितले हो,’ माओवादीतिर लक्षित गर्दै ओलीले भने, ‘बलियो संसदीय गणितमा उभिएको सरकार आज नै ढल्छ। भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो, अनि नढलेपछि त्यति रुचि छैन् यो सरकारतिर हाम्रो भन्न पनि भ्याइहाल्ने।’
उनले २०८४ सम्म यही राजनीतिक समीकरण अगाडि जाने समेत उल्लेख गरे। ‘यस्तो अस्थिरताको पक्षपोषण के का लागि ?,’ ओलीको प्रश्न छ, ‘देशका लागि त यो पक्कै होइन। म भन्न चाहान्छु अस्थिरताको जतिसुकै चाहाना राखे पनि आगामी २०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ। त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ।’
























