Breaking News
रविलाई भेटेपछि राजेन्द्र लिङ्देनले भनेः भैरहवा कारागार असुरक्षित,तत्काल काठमाडौँ सारियोस्

काठमाडौं,साउन २७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) का अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार भैरहवास्थित रुपन्देही जिल्ला कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। पूर्वगृहमन्त्री लामिछाने बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा छन्। भेटका क्रममा लामिछानेसँग सन्चोरबिसन्चो बुझ्नुका साथै राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत विविध पक्षमा कुराकानी गरिएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका छन्।
लिङ्देनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त लागेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ।’ लिङ्देनले रविलाई तत्काल काठमाडौँस्थित कारागारमा सार्न गृहमन्त्री रमेश लेखकलाई अनुरोधसेमत गरेका छन्।
सामाजिक सञ्जालमार्फत लिङ्देनले भनेका छन्, ‘गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गर्न चाहन्छु, उहाँलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुन्छ।’ रवि रहेको जेलका विषयमा विभिन्न चर्चा भइरहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले पनि त्यो असुविधाजनक र असुरक्षित देखिएको बताएका हुन्।
























