देश/प्रदेश
हास्य कलाकारका लागि विशेष पर्व ‘गाईजात्रा’

काठमाडौँ, साउन २५-
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो ।
विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । यस अवसरमा हास्य कलाकारहरूले पनि विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
विशेषतः हास्य कलाकारका लागि ‘गाईजात्रा’ ठूलो पर्वका रूपमा मानिन्छ । सोही कारणले गाईजात्राका अवसरमा काठमाडौँस्थित प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थामा विभिन्न हास्य कलाकारहरूको प्रस्तुति सुरू भएको छ ।
पछिल्ला केही वर्षयता महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘गाईजात्रा’ का सन्दर्भ पारेर प्रहसन नगरे पनि गत वर्ष ‘महजात्रा’ नामक प्रहसन स्वदेश तथा विदेशमा गर्नुभयो । चलचित्रमा व्यस्त रहनुभएका कलाकार आचार्यले समय मिलाएर प्रहसनमार्फत दर्शकसँग साक्षात्कार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले गत वर्ष महजात्रालाई विदेशसँगै नेपालमा पनि देखायौँ । म र मदन दाई (मदनकृष्ण श्रेष्ठ) लाई दर्शकले दिनुभएको मायाले गर्दा हामी मिलेसम्म प्रहसन लिएर आउने गरेका छौँ । पछिल्लो समय विविध कारणले गाईजात्रामा प्रस्तुति दिन पाइरहेका छैनौँ । तर, नयाँपुस्ताले दिनुभएको निरन्तरताले हामीलाई खुसी दिएको छ ।”
कलाकार आचार्यले महजोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधैँ भन्न पाइने व्यवस्था नभएको स्मरण गर्नुभयो । उक्त समयमा अभिव्यक्त गर्ने विषयलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
“तत्कालीन व्यवस्थाले हामीलाई धेरै छुट दिएको थिएन, त्यसैले हामीले कलाको प्रयोग गरेर आफ्ना कुरा भन्ने गथ्र्यौं । अहिले धेरै छुट छ, तर हामीले त्यसलाई कलात्मक बनाउन छाड्न भने हुँदैन । हामीले गर्ने प्रस्तुतिले मनोरञ्जनसँगै संस्कृतिलाई पनि व्यक्त गर्नुपर्छ”, कलाकार आचार्यले भन्नुभयो ।
पछिल्लो समय ‘गाईजात्रा’मा प्रहसन दिन नभ्याउने कलाकारमा ‘माग्ने बुढा’ को उपनामले चर्चित हुनभएका कलाकार केदार घिमिरे पनि पर्नुहुन्छ । चलचित्रमा अभिनय गर्न थालेयता उहाँले ‘गाईजात्रा’ मा आफूलाई प्रस्तुत गर्नुभएको छैन ।
चलचित्रका माध्यमले मनोरञ्जन दिइरहनुभएका कलाकार घिमिरे प्रहसन र मञ्चलाई सधैँ सम्झना आइरहने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हास्य कलाकारको ठूलो पर्व हो गाईजात्रा । त्यहाँ मञ्चमा उभिएर अगाडि रहेका दर्शकलाई खुसी बनाउनुको आनन्द बेग्लै छ । तर, पछिल्ला केही वर्षयता चलचित्रमा व्यस्त भएकाले समय निकाल्न सकेको छैन । चलचित्रमा जोडिएपछि अभिनयसँगै प्रचारप्रसार र प्रदर्शनपछि पनि काम गर्नुपर्छ । त्यसकारण समय मिलाउन नसकिएको हो ।”
गाईजात्रामा प्रस्तुत हुने रहर नभएका हास्य कलाकार सायदै नहुने घिमिरेले बताउनुभयो । समय मिलेमा आगामी दिनमा ‘गाईजात्रा’ मा प्रहसन दिने उहाँको भनाइ छ ।
विसं २०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहनुभएका कलाकार शिवशङ्कर रिजालले यस वर्ष ‘मिसन नौटङ्की’ नामक प्रस्तुति ल्याउनुका साथै सांस्कृतिक संस्थानमा प्रस्तुत गरिरहनुभएको छ । आफ्नो प्रस्तुतिमार्फत राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि आधुनिक फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो ।
“केही वर्षयता हामीले डिजिटल रूपमा ल्याउने प्रस्तुति होस् वा प्रत्यक्ष प्रस्तुत गर्ने प्रहसनमा व्यावसायिक लाभ नहुन सक्छ, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसेली ल्याउने गरेको छु । मैले प्रत्यक्ष रूपमा पनि आफ्नो प्रस्तुति दिने गरेको छु”, उहाँले भन्नुभयो ।
पछिल्लो समय चलचित्रमा व्यस्तता बढेसँगै चर्चामा रहेका दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल ‘धुर्मुस’, जीतु नेपाललगायत हास्य कलाकार गाईजात्राका अवसरमा मा आयोजना हुने कार्यक्रममा कमै सहभागी हुने गर्नुभएको छ ।
‘गाईजात्रा’ पर्व राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा सुरु भएको ऐतिहासिक तथ्य छ । रासस
























