Breaking News
रास्वपा र राप्रपाले बुधबार पनि गरे संसद बैठक बहिष्कार

काठमाडौं,साउन २१-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि रास्वपा र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुई दलले लगातार बैठक बहिष्कार गर्दै आएका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद मनिष झा र राप्रपा सांसद रोशन कार्कीलाई बोल्न समय दिएका थिए ।
उनीहरूले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरुप छानबिन गर्न समिति नबनाइएकाले समिति नबन्दासम्म विरोध गरिरहने बताए । उनीहरूले विपक्षीको विरोधका बीच संसद चलाइनुमा संसद सरकारप्रति उत्तरदायी हो कि संसदप्रति उत्तरदायी हो भन्ने प्रश्न पनि गरेका थिए ।
रास्वपा र राप्रपाले गत १३ जेठदेखि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै आएका छन् ।
























