चितवन विशेष
कक्षा १२ को परीक्षामा लिटिल फ्लावरबाट २८ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जिपिए

चितवन,साउन २०-
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित लिटिल फ्लावर स्कुलका २८ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन । कलेजले प्लसटु अध्यापन सुरु गरेको यो चौथो ब्याच हो । यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी ३० जना छन । १२ जना विद्यार्थीले २.८१ देखि ३.२० जिपिए ल्याएको स्कुलले जनाएको छ । एक जना विद्यार्थीको २.४१ देखि २.८० जिपिए रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित नतिजाअनुसार देशभरबाट नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।
























