चितवन विशेष
कक्षा १२ को परीक्षामा बाल्मीकि शिक्षा सदनका अमनले ल्याए ३.९६ जिपिए, ९८ प्रतिशत विद्यार्थी उत्तिर्ण

चितवन,साउन २०-
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित बाल्मीकि शिक्षा सदनले उत्कृष्ट नतिजा हांसिल गरेको छ । कलेजका विद्यार्थी अमन पौडेलले ३.९६ जिपिए ल्याएका छन । सोमबार साँझ प्रकाशित नतिजा अनुसार पौडेलले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट भएको दाबी कलेजको छ । कलेजका प्लस टु कोअर्डिनेटर बिष्णु ढकालका अनुसार कलेजबाट ४ सय ४९ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमध्ये विज्ञान संकायमा ९८ प्रतिशत विद्यार्थी पास भएका छन । यस्तै व्यवस्थापन संकायमा ८७ प्रतिशत विद्यार्थी पास भएको ढकालले जानकारी दिनुभयो । विगतका वर्षका पनि राम्रो नतिजा निकाल्दै आएको बाल्मीकिले उत्कृष्टतामा निरन्तरता दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित नतिजाअनुसार देशभरबाट नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।
























