चितवन विशेष
संरक्षण र सह–अस्तित्वमाथि विमर्श गर्दै चितवनमा मनाईयो बाघ दिवस

चितवन, साउन १३–
संरक्षण र सह–अस्तित्वमाथि विमर्श गर्दै चितवनमा आज (मंगलबार) विश्व बाघ दिवस मनाईएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा ‘समुदाय र सरोकारवालाबीच बाघ संरक्षणको विषयमा संवाद’ कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले वन्यजन्तुको संरक्षणका लागि सरकारले सातै प्रदेशमा वनस्पति उद्यान र चिडिया खाना निर्माणको तयारी थालेको बताउनुभयो । सुरुवाती चरणमा सात वटै प्रदेशमा वनस्पति उद्यानसंगै चिडिया खाना निर्माण गर्न खोजी रहेको बताउनुभयो । विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा आयोजना गरेको ‘समुदाय र सरोकारवालाबीच बाघ संरक्षणको विषयमा संवाद’ कार्यक्रममा बोल्दै सचिव मिश्रले वनस्पति उद्यान र चिडिया खानाको आम्दानीबाट वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने बताउनुभयो । प्रदेशपछि महानगर स्तरीय चिडियाखाना पनि बनाउन सकिने उहाँको भनाई थियो ।

सचिव मिश्रले मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरण, वन्यजन्तु संरक्षणमा समुदालय गरिने प्रोत्साहनलगायतका विषयमा वनसंग सम्बन्धित केही कानुन संशोधनको तयारी समेत भइरहेको बताउनुभयो । उहाँले वन्यजन्तु संरक्षणमा समुदायलाई अग्र भागमा राखेरै सरकारले कार्यक्रम तय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्य, माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतो, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, त्रिवि वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालसँग संवाद गर्नुभएको थियो ।
्माडी नगरकी प्रमुख महतोले निकुञ्ज ऐनका कारण वन्यजन्तु संरक्षणमा चुनौति थपिदै गएको बताउनुभयो । कुनै पूर्वाधार निर्माण गर्दा निकुञ्ज ऐन बाधक बन्ने गरेको भन्दै यसले स्थानीयबासी र संरक्षण गर्ने निकायबाीच मतभेद बढाउँदै लगेको बताउनुभयो । उहाँले पछिल्लो समय माडीमा साना–ठूला सबैखाले जनावरको संरक्षण गर्नु पर्दछ भन्ने चेनता बढ्दै गएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले संरक्षणका साथै जिविकोपार्जनमा स्थानीयलाई जोड्नु पर्ने बताउनुभयो । उहाँले स्थानीयलाई आयआर्जन र जिविकोपार्जनको सहज वातावरण सिर्जना नगरि भविष्यमा संरक्षणमा थप चुनौति थपिने बताउनुभयो ।
यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का निर्देशक चिरिञ्जीवी पोखरेलले वन्यजन्तुको उद्धार बढ्दै गएको भन्दै उद्धार गरिएका वन्यजन्तुको संरक्षणमा पनि चुनौति थपिदै गएको बताउनुभयो । त्रिवि वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालले पछिल्लो समय बाघ तराईमा मात्र नभई पहाडी भेगमा समेत भेटिन थालेको भन्दै उद्धारमा थप चुनौति बन्ने बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले प्राणि उद्धान र चिडियाखानाको मापदण्ड र कार्यविधि बने उद्धार गरेका जीवजनावर राखेर आर्जन गर्न सकिने अवस्था रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा वन्यजन्तु संरक्षणमा योगदान पुर्याएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवलाई पनि सम्मान गरियो । यादव चितवन निकुञ्जको स्थापनाकालकै कर्मचारी हुन् । यस्तै वन्यजन्तु उद्दार सम्बन्धी निर्देशिक समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो । यस वर्षको बाघ दिवसको नारा ‘सह–अस्तित्व र आयआर्जन, बाघ संरक्षणका लागि व्यवहार परिवर्तन’ रहेको छ ।

कार्यपत्र प्रस्तुत गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बाघसंग हुने ८० प्रतिशत घटना मानिस जंगल भित्र पसेर भएको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार २० प्रतिशत घटना मात्रै बाघ मान्छेको बस्तीमा आएका कारण भएका हुन् । नेपालमा सबैभन्दा बढी बाघ पाइने चितवन राष्ट्रिय निकुञ्ज हो । सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ वटा बाघ छन् ।
कार्यक्रमको समुद्घाटन सत्रमा माडी नगरपालिकाका उपप्रमुख खेम महतो, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, डा.नरेन्द्रमान बाबु प्रधान, भरतपुर–२४ का वडा अध्यक्ष राम गोदारलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
























