चितवन विशेष
सौराहामा खुल्यो हेलिप्याडसहितको पाँचतारे होटल, एउटै रुमको १ लाख रुपैयाँसम्म

सौराहा,साउन ११-
चितवनको पर्यटकीय नगरी सौराहामा हेलिप्याडसहितको पाँचतारे होटल ‘रोयल टुलिप चितवन’ खुलेको छ । आंशिक रुपमा सेवा प्रदान गर्न सुरु गरेको होटलले शुक्रबारदेखि रेस्टुराँ सञ्चालनमा ल्याएको हो । चार एकड क्षेत्रफलमा फैलिएको होटलको परिसरभित्रै ‘माझी घर’ नाम राखेर सञ्चालन भएको रेस्टुराँ चौबीसै घण्टा खुला रहने केटीएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाहले बताउनुभयो । उहाँका अनुसार होटलमा ६५ वटा आवास रहेका छन । जसमा विशेष पुल, भिल्ला, वाटर भिल्ला र मचान स्वीटहरु रहेको शाहले बताउनुभयो । पाहुनाहरुले स्पा, फिटनेश सेन्टर, पौडी पोखरीको समेत आनन्द लिन सक्नेछन ।

फ्रान्सको लुभ्र होटल्स ग्रुपअन्तर्गत केटीएम हस्पिटालिटीले यो होटल सञ्चालन गर्न लागेको हो । ‘होटलको काम केही बाँकी छ । असोज पहिलो साताबाट होटल पूर्ण सञ्चालनमा आउनेछ । त्यसअघि नै रेस्टुराँ सुरु गरेका हौं,’ शाहले भन्नुभयो । राति १० बजेपछि बिहान ६ बजेसम्मको मेनु केही हल्का भए पनि खान चाहनेका लागि रेस्टुराँ चौबीसै घण्टा खुला रहने उहाँले बताउनुभयो । ‘रोयल टुलिप’का पाहुनाका लागि मात्रै नभएर यो सुविधा सबैलाई उपलब्ध हुने उहाँको भनाई छ ।
स्थानीय आदिवासी थारू र माझी समुदायको संस्कृति र परम्पराबाट प्रेरित भएर रेस्टुराँको नाम माझीघर राखिएको उहाँले बताउनुभयो । जहाँ खाना खान आउनेले आत्मीय वातावरणमा स्वादिला र स्वास्थ्यवद्र्धक परिकार खान पाउने शाहको भनाइ छ । माझीघरमा स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय प्रभाव दुवैको मिश्रण रहने उहाँ बताउनुहुन्छ । होटलमा १७ हजारदेखि १ लाख सम्मका रुमहरु रहेका छन ।

























