चितवन विशेष
गण्डकी प्रदेश पूर्वप्रमुख गुरूङको देवघाटमा अन्त्यष्टी

भरतपुर,साउन ११-
गण्डकी प्रदेशका पूर्वप्रमुख एवम् नेपाली कांग्रेसका अग्रज नेता पृथ्वीमान गुरूङको देवघाटमा गुरूङ संस्कारअनुसार अन्त्यष्टी गरिएको छ । शनिबार निधन भएका गुरूङलाई गुरूङ समुदायको परम्परा एवम् संस्कृतिअनुसार धर्मगुरूहरुबाट अन्तिम संस्कारको लागि कर्म गरिसकेपछि सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो ।
त्यसभन्दा अघि स्वर्गीय गुरूङको निवास भरतपुर–२६ दिव्यनगरमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको थियो । गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन आउनुभएको थियो । उहाँले नेपाली कांग्रेसमात्र नभई नेपाली राजनीतिमै महान् योद्धा गुमाएको बताउनुभयो ।
घरमा श्रद्धाञ्जली अर्पण गरिसकेपछि पार्टीको जिल्ला समितिको कार्यालय कमलनगरमा करिब आधा घण्टा श्रद्धाञ्जली अर्पण गरेपछि देवघाटमा अन्त्यष्टी गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । गुरुङको अन्तिम बिदाइमा जिल्ला तहका विभिन्न दलका नेता तथा कार्यकर्तासहित चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखलगायत विभिन्न कार्यालयका प्रमुखहरुको समेत उपस्थिति थियो ।
लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरूङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षको उमेरमा निधन भएको हो । कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरूङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाउनुभएको थियो । राजनीतिक जीवनको उत्तरार्धमा उहाँले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुखजस्तो गरिमामय संवैधानिक पदको जिम्मेवारी सम्हाल्नुभयो । प्रदेश प्रमुखको भूमिकामा रहँदा उहाँले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राख्नुभएको थियो । यसैविच गुरूङको निधन भएको दुःखद् घडीमा नेपाली कांग्रेस चितवनले तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बिहान बैठक बसेर पार्टीको जिल्ला समिति तथा ९८ वटै वडा कार्यालय तीन दिन बन्द गर्ने र सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको काँग्रेस चितवनले जानकारी दिएको छ ।
























