चितवन विशेष
सुनचाँदी व्यवसायीहरूको आन्दोलनमा उद्योग वाणिज्य संघ चितवनको ऐक्यवद्धता

चितवन,साउन ६-
सुनचाँदी व्यवसायीहरू गरिरहेको आन्दोलनमा उद्योग वाणिज्य संघ चितवनले समेत ऐक्यवद्धता जनाएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्काल व्यवसायीका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरको छ । विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनचाँदीका गर गहनालाई विलासिताका वस्तुका रूपमा व्याख्या गर्दै सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा-पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को कारण सुनचाँदी व्यवसाय लगायत सोको कारण अन्य व्यवसायमा समेत नकारात्मक प्रभाव पारेको छ र बैंक बाट कर्जा लिइ जटिल परिस्थितिमा व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीलाई आर्थिक मन्दीका कारण बैंक व्याज समेत तिर्न नसकेको वर्तमान अवस्थामा यसरी करको दरमा वृद्धि गरेकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन एवम् देश भरीका सुनचाँदी व्यवसायी संघद्वारा जारी आन्दोलनमा संघको समेत समर्थन रहेको उल्लेख गरिएको छ ।
रोजगार र उत्पादन सङ्कट निम्त्याउनुका साथसाथै व्यापार घाटा उल्लेख्य रुपमा हुने हुनाले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल खारेज तथा सुनको भन्सार दरलाई ६ प्रतिशतमा कायम गरी सुनचाँदीको कारोबारलाई व्यवसायीमैत्री , भय रहित र उपभोक्तामुखी बनाउन उद्योग वाणिज्य संघ चितवनले माग गरेको छ ।
























