Breaking News
स्वास्थ्य विमाको प्रथम सेवा बिन्दु भरतपुर अस्पतालमै रहन्छः स्वास्थ्य मन्त्री पौडेल

भरतपुर,असार ३२-
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य विमाको प्रथम सेवा बिन्दु कायमै रहने बताउनुभएको छ । नारायणी अनलाइनसंग कुरा गर्दै मन्त्री पौडेलले भरतपुर अस्पतालमा प्रथम सेवा बिन्दु बनाएका विमित नागरिकलाई असहज हुने देखेपछि प्रथम सेवा बिन्दु कायमै गरिएको बताउनुभयो । उहाँले भरतपुर अस्पताल देशका धेरै बिरामीले सेवा लिने र केन्द्रबिन्दुमा रहेका कारण पनि सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
यसअघि उहाँले स्वास्थ्य विमाको प्रथम विन्दु केन्द्रीय सरकारी अस्पतालमा रहने व्यवस्था मिलाएको सामाजिक संजाल फेसबुकमा लेख्नुभएको थियो । मन्त्री पौडलले नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अफ्ठयारो हुने स्थानहरुका लागि केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहनेगरी व्यवस्था मिलाएको बताउनुभएको छ । उहाँले सामाजिक लेख्नुभएको छ,‘स्वास्थ्य विमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाइलाई सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अफठ्यारा पर्ने स्थानहरुका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहनेगरी व्यवस्था मिलाएका छौं ।’
उहाँले स्वास्थ्य विमा व्यवस्थित गर्दै हरेक स्थानिय तहमा कम्तिमा एक प्रथम सेवाबिन्दु संचालन गर्ने नीति अन्तर्गत प्रथम सेवा विन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना गर्न प्रदेश र सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । उहाँले विमा संचालन गर्नका लागि प्रदेश सरकार स्थानीय तहसंग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य विमा सेवा उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
























