चितवन विशेष

नारायणीमा बाढी आउन सक्ने भन्दै चितवन प्रहरीले गर्‍यो माइकिङ

Banner

चितवन,असार २४-

चितवन प्रहरीले नारायणीमा बाढी आउन सक्ने भन्दै माइकिङ गरेको छ । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोशीमा तिब्बतबाट आएको बाढीले त्रिशूली नदी किनारका बस्ती प्रभावित हुन सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।

सोहीनअनुरुप चितवन प्रहरीले माइकिङ गरी नदी किनारमा नजान र नदी किनारका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए । तिब्बतबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएको हो ।

नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ । महाशाखाले भनेको छ, यस विभागको भोटेकोशीस्थित रसुवा-स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान ३ः३० बजे बाढी पुगेको देखिन्छ ।

महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो । बेत्रावती केन्द्रमा बहाव करिब साढे २ मिटरसम्म बढेको र हाल केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । साथै महाशाखाले त्रिशूली नदी किनार आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गर्दै भनेको छ, प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएको छ।

भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीमा परी ३ प्रहरी, भन्सार यार्डमा काम गर्ने ९ नेपाली र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>