Breaking News

चितवनको महको गुणस्तर उच्च

Banner

चितवन, असार १७-

चितवनको मह गुणस्तर योग्य रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा गरिएको परीक्षणबाट नेपाल सरकारले बनाएको मापदण्डभन्दा चितवनको महको गुणस्तर धेरैै राम्रो पाइएको हो ।

मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनले महको गुणस्तर परीक्षणका लागि दश वटा नमूना संकलन गरेर प्रयोगशालामा पठाएका थिए । परीक्षणका क्रममा सबै नमूनाको गुणस्तरको नतिजा उत्कृष्ट आएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईले जानकारी दिनुभयो ।

‘चितवनका ११ वटा फर्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जंगली स्रोतको मह परीक्षणका लागि नमूना पठाइएको थियो । नेपाल मौरीपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०७४ मा लेखिएका आठ वटा मापदण्ड परीक्षण गर्दा मापदण्डभन्दा धेरै उत्कृष्ट पायौँ,’ कार्यालय प्रमुख अमगाईले भन्नुभयो ‘चितवनमा उत्पादन भएको मह उपभोक्ताले ढुक्क साथ सेवन गर्न सक्नुहुन्छ ।’ उहाँका अनुसार, महको पानीको आद्रता, गुलकोज अनुपात, रिड्युसिङ सुगरको अनुपात, हाइड्रोक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थको मात्र परिक्षण गरिएको थियो ।

परीक्षणको क्रममा हाइड्रोक्सिमिथाइल फरफुरलको मात्र प्रतिकेजी ५ देखि १५ एमजीसम्म रहेको पाइएको छ । प्रतिकेजी ४० एमजीभन्दा माथि भएमा राम्रो मानिँदैन । हाइड्रोक्सिमिथाइल फरफुरलको मात्रा जति कम त्यति राम्रो रहेको उहाँले बताउनुभयो । पौष्टिक तत्वपनि बढी हुने उहाँले बताउनुभयो ।

त्यस्तै पानीको आद्रता १६ देखि २१ प्रतिशत, गुलकोज अनुपात शुन्य दशमलव दुई, रिड्युसिङ सुगरको अनुपातको अनुपात ६९ देखि ७९सम्म रहेको पाइएको छ । यस परीक्षणबाट आएको नतिजाले सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।
उपभोक्ताले गुणस्तरीय महको पहिचान गर्न नसक्दा ठगिने गरेका छन् । कति महको रङ र जम्ने नजम्मे महको विषयमा उपभोक्ता अलमलमा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मी बताउँछन् । ‘गुलकुजको मात्रा केही बढी भएको मह जम्ने गर्दछ । जम्दा वित्तिकै मह गुणस्तरीय छैन भन्न मिल्दैन । जमेको महको गुणस्तर राम्रो हुन्छ,’ रेग्मीले भन्नुभयो ‘महको स्रोत अनुसार रङ र स्वाद फरक हुन्छ । यसमा केही पनि झुक्निु पर्दैन ।’
कतिपय उपभोक्तामा महको गुणस्तरीयताको विषयमासमेत भ्रम छ । त्यसलाई चिर्नका लागि विभिन्न माध्यम प्रयोग गरेर सचेतनामूलक कार्यक्रम गर्दै आइएको उहाँले बताउनुभयो । परियोजना मार्फत चितवन र मकवानपुरमा मौरी जोन क्षेत्रका कार्यक्रम समेत सञ्चालन भएका छन् ।

अन्य जिल्लाभन्दा चितवन मह उत्पादनमा अग्र स्थानमा छ । नेपालमा व्यवसायिक रूपमा मौरीपालन गर्ने किसान १३ हजारको हाराहारीमा छन् । नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन् । चितवनमा मात्र १६ हजार पाँच सय मौरीका घार रहेका छन् ।

नेपालमा वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । त्यसमध्ये चितवनमा दुई सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>