चितवन विशेष

सुनचाँदीमा लगाएको करको बिरोधमा भोलि चितवनका सुनचाँदी पसलहरु बन्द हुने

Banner

भरतपुर,असार १२-

चितवन जिल्लामा रहेका सुनचाँदी पसलहरू भोलि (शुक्रबार) बन्द हुने भएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूका जायज मागहरु सम्बोधन गर्न तदारुकता नदेखाएको भन्दै यहाँका सुनचाँदी व्यवसायीहरुले जिल्लाभरका सबै सुनचाँदी पसल बन्द गर्ने घोषणा गरेका छन ।
सरकारले बजेट मार्फत सुन र सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा, जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित छन । चितवन जिल्लाभर शुक्रबार सुनचाँदी पसलहरु बन्द गरी काठमाडौंमा आयोजित संयुक्त विरोध ¥यालीमा सहभागी हुन सम्पूर्ण व्यवसायीहरूलाई आह्वान गरिएको संघका महासचिव गोपाल बहादुर वि.क थापाले बताउनुभयो । उहाँले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त निर्देशन एवं जिल्ला संघको पूर्ण बैठकको निर्णय अनुसार व्यवसाय बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सरकारले ल्याएको यस कर नीतिले व्यवसायी मात्र होइन आम उपभोक्ता समेत मारमा रहेको बताउँदै पसलहरु बन्द गर्न लागिएको बताउनुभयो । सरकारको यो कर नीति अत्यन्तै अव्यवहारिक छ,उहाँले भन्नुभयो, व्यवस्था लागू भएमा समग्र सुनचाँदी व्यवसायीहरूले आफ्नो पेसा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउँछ । चितवन जिल्लामा पाँच सयभन्दा बढी सुनचाँदी पसलहरु रहेका छन् । संघले करको विरोध गर्दै यसअघि पनि जेठ २८ र २९ गते र असार ४ गते जिल्लाभर सुनचाँदी पसलहरु बन्द गरी विविध विरोधका कार्यक्रमहरू समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>