मनोरञ्जन
पूर्वराजाको क्यारिकेचर गर्दा कलाकार लामालाई धम्की

काठमाडौँ, असार १२-
कमेडियन प्रभात लामाले आफुलाई धम्की आएको बताएका छन् ।
‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका थिए ।
आफूलाई राजावादी बताउनेहरूबाट फोन तथा म्यासेज लगायतको विभिन्न माध्यमबाट धम्की आएको उनले बताए । पूर्वराजा ज्ञानेन्द्र विष्णु भगवान्को अवतार हो । तैले क्यारिकेचर गर्न मिल्छ ?’ भन्दै गाली गलौच गर्दै बचेर हिँड्न भनेर धम्की दिएको लामाले खुलाए ।
लामाले यस विषयमा सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै भनेका छन्, ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा मैले पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरपछि केही साथीहरु रिसाएर म्यासेज, फोन गरिराख्नु भएको छ । म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री ज्यूको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्छु भने पूर्वराजको क्यारिकेचर गर्दा गलत के भयो रु ।’
‘तपाईँको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईँको राजा ल्याउँदै गर्नुस्’, उनले अगाडि थपेका छन्, ‘रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टि, क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईँहरू पनि गर्नुस् । कलाकारितामा आउनुस् । जातभातको कुरै नगर्नुस् ।’ उनले अहिलेको समय जातको कुरा गर्नु शोभनीय नभएको समेत बताएका छन् ।
























