Breaking News

इरानमा रहेका १६ नेपालीमध्ये पाँचजना जेलमा, सबैलाई भारतले उद्धार गर्ने

Banner

काठमाडौं,असार ७-

इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्दार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।

“इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ,” परराष्ट्रमन्त्री डा. राणाले भनिन्, “हामी उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।” एक सातादेखि जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् ।

इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको छ । इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपाली र इरानस्थित भारतीय दूतवासका डीसीएम राखी मायुरीसँग सम्पर्क र समन्वय गर्न आग्रह गरेका छन् ।

भारतीय दूतावासले नेपाल र त्यहाँस्थित श्रीलंकाली नागरिकलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँचजना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>