Breaking News
दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्यूरोले जारी गर्यो सूचना
०

काठमाडौं असार ३-
नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ । पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुन सूचनामा भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो ।
मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।