खैरहनी

खैरहनी नगरपालिकाद्वारा अनुदानमा चार वटा ट्र्याक्टर वितरण

Banner

चितवन, जेठ ३०–

खैरहनी नगरपालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्षको वार्षिक बजेटमा रहेको एक वडा एक कृषि सहकारी कृषि कार्यक्रम अन्तर्गत कृषि सहकारीलाई ट्र्याक्टर, उपकरण, मेसिन अनुदान कार्यक्रम अनुरुप अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा, आर्थिक समिति संयोजक छत्रनाथ सुवेदी, सुशासन समितीका संयोजक कुलप्रसाद भुषाल लगायतले अनुदानको ट्र्याक्टर हस्तान्तरण गरेका हुन् । खैरहनीको चारवटा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर, रोटाभेटर र कल्टिभेटेर वितरण गरिएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठले जानकारी दिइन् । नगरपालिकाले ट्रयाक्टर अनुदानमा वितरणको लागि सुचना जारी गर्दा ६ वटा सहकारीले निवेदन दर्ता गराएका थिए ।
६ वटामध्य एक सहकारी मापदण्डमा नपरेको र एउटाले लागत सहभागीता अनुरुप ५० प्रतिशत रकम जम्मा नगरेकाले चारवटा सहकारीले मात्रै अनुदानमा ट्र्याक्टर, रोटाभेटर र कल्टिभेटेर प्राप्त गरेका हुन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित रामकोला कृषि सहकारी संस्था लिमिटेड, खैरहनी ३ को नवएकता कृषि सहकारी संस्था लिमिटेड, खैरहनी–९ को गरीबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र खैरहनी–१२ को कपिया माछापालन सहकारी संस्था लिमिटेडले अनुदानमा ट्याक्टरसहित रोटाभेटर र कल्टिभेटेर प्राप्त गरेका हुन् । बोलपत्रको माध्यमबाट ५० हर्ष पावरको ट्र्याक्टरको १२ लाख ८२ हजार ५५० रुपैयाँ, कल्टिभेटरलाई ३६ हजार र रोटाभेटरलाई १ लाख ७४ हजार रुपैयाँमा गरि एकसेटलाई कुल १४ लाख ९२ हजार २५० रुपैयाँ परेको कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिए । त्यसको ५० प्रतिशतको हुने रकम ७ लाख ४६ हजार २७५ रुपैयाँ नगरपालिका र सोही बराबरको रकम संस्थाले बुझाएको न्यौपानेले बताए । ट्र्याक्टर हस्तान्तरणको क्रममा बोल्दै उप प्रमुख कविता उप्रेतीले सहकारीले संचालन गर्ने ट्र्याक्टरले सहुलियत दरमा सेवा दिए किसानको लागत घट्ने र किसानहरु कृषि उत्पादन गर्न उत्साहित हुने विश्वास व्यक्त गरिन । उनले १३ वटै वडामा एक एक कृषि सहकारी मार्फत कृषि सामाग्री हस्तान्तरण गर्ने र कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको बताइन् ।
अनुदानमा पाएर सहकारीले संचालन गरेको ट्रयाक्टरले अन्यको भन्द सहुलियत दरमा काम गर्नुपर्नेमा उप प्रमुख उप्रेतीले सुझाव दिइन् । खैरहनीका नगर प्रमुख शशी कुमार खनियाले पराम्परागत भन्दा आधुनिक कृषि प्रणालीलाई जोड दिनुपर्ने बताए । व्यक्ति विशेषलाई अनुदान दिनुभन्दा सहकारीलाई दिदा संस्थागत हुने, धेरै किसान लाभान्वित हुने भएकोले एक वडा एक कृषि सहकारी अवधारणा ल्याइएको बताए । उक्त अवधारणा अनुसार कम्तिमा एक वडामा एक बलियो, उपकरण सहितको कृषि सहकारी हुने जसको कारण दीर्घकालीन रुपमा कृषि उत्पादन र बजारिकरणमा सहयोग पुग्ने उनले बताए । नगरपालिकाको पहिलो प्रयास स्वरुप ट्र्याक्टर वितरण गरिएको भन्दै नगर प्रमुख खनियाले धेरै सहकारीलाई दिने चाहना हुदाहुदै आवेदन नै कम परेको र दुईवटा प्रक्रियामा समावेश हुन नसकेको भन्दै आगामी दिनमा माग अनुसारको थप आधुनिक उपकरणहरु दिने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>