चितवन विशेष
राष्ट्रपति रनिङशिल्ड खेल्ने चितवन र नवलपुरका खेलाडिलाई सेन्ट्रल कलेजको जर्सी सहयोग

चितवन,जेठ २६-
राष्ट्रपति रनिङ शिल्ड खेल्ने चितवन र नवलपुरका खेलाडिलाई सेन्ट्रल कलेजले ट्र्याक सुट (जर्सी) सहयोग गरेको छ । कलेजले दुवै जिल्लामा आयोजित कार्यक्रम मार्फत जर्सी सहयोग गरेको हो ।
दोलखामा हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रानिङ शिल्ड प्रतियोगितामा सहभागी हुन चितवनका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरिसकेका छन । प्रतियोगितामा सहभागी हुन खेलाडीहरु शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले ट्र्याक सुट वितरण गरेको छ । कलेजले एक सय ११ थान ट्र्याक सुट वितरण गरेको हो । सेन्ट्रल कलेजका प्रिन्सिपल प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीमार्फत खेलाडीहरुलाई उक्त ट्र्याक सुट हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा पौडेलले खेलाडीहरुलाई उच्च मनोबलसहित राम्रो प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै चितवनको नाम थप चम्काउने विश्वास व्यक्त गर्नुभयो । सेन्ट्रल कलेजले लामो समयदेखि यसरी नै खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उहाँले सेन्ट्रल कलेज सधैं खेल र खेलाडीको साथमा रहने बताउनुभयो । सेन्ट्रल कलेजले राष्ट्रपति रनिङ शिल्डको अघिल्ला संस्करणमा पनि यसरी नै सहयोग गर्दै आएको थियो ।
खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले यस किसिमको सहयोगले खेलाडीहरुमा उत्साह थपिने बताउनुभयो । उहाँले सहयोगका लागि सेन्ट्रल कलेजलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै उहाँले आगामी दिनमा पनि जिल्लाको खेल क्षेत्रलाई व्यवस्थित र बिकास गर्न कलेजले सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा चितवनले राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको उहाँको भनाई छ ।
प्रतियोगितामा सहभागी हुन एक सय ९ खेलाडी, १२ प्रशिक्षक, ६ व्यवस्थापक र पदाधिकारीको टोली दोलखातर्फ प्रस्थान गरेको हो । चितवनले प्रयोगितामा ६ विधामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले कराते, तेक्वान्दो, एथ्लेटिक्स, भलिबल, उसु र कबड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै गण्डकी प्रदेशको गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा नवलपुरबाट सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजले ८४ सेट जर्सी हस्तान्तरण गरेको छ । कलेजका प्रिन्सिपल पौडेलले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुका साथै आगामी दिनमा पनि खेलकुद तथा सामाजिक क्षेत्रमा कलेजको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले सेन्ट्रल कलेज र प्रिन्सिपल पौडेललाई धन्यवाद दिँदै यस्तो सहयोगले खेलाडीहरूमा उत्साह थपिएको बताउनुभयो । उहांका अनुसार नवलपुरबाट विभिन्न खेल विधामा ८२ जना खेलाडी र व्यवस्थापन टोलीसहित ९४ जना प्रतियोगितामा सहभागी हुँदैछन् । प्रतियोगिता जेठ २५ देखि २७ गतेसम्म गोरखा जिल्लामा आयोजना हुनेछ । जिल्ला खेलकुद परिषद गण्डकीको आयोजनामा हुने प्रतियोगिता खेलकुदमार्फत राष्ट्रिय एकता, सामाजिक समावेशिता र जिल्लाको पहिचान बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो ।






















