Breaking News
बाँदरमुढे घटनाको आज २० वर्ष पूरा, पीडितको व्यथा उस्तै

चितवन, जेठ २२-
तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेला माडी बाँदरमुढे खोलामा भएको बम विस्फोटको घटनाको २० वर्ष पूरा भएको छ । तर, घटनामा परेका घाइतेको पीडा अझै उस्तै छ । यात्रुले खचाखच भएको बसलाई लक्षित गरी माओवादीले गराएको विस्फोटमा परेर २०६२ सालको जेठ २३ गते बिहान आठ बजेतिर घटनास्थलमै स–साना बालबालिकासमेत गरेर ३८ जनाको ज्यान गएको थियो । ७२ जना घाइते भएका थिए ।
घटनाको सम्झनामा शुक्रबार बाँदरमुढे खोलामा बनेको स्मारकमा घटनामा आफन्त गुमाएका र घाइते भएका माडीवासीले भेला भएर श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘पहिलो जस्तो काठमाण्डौँबाट मान्छे ल्याएर कार्यक्रम गरिएन । यहाँ केही मान्छे जम्मा भएर दिप र अगरबत्ती र फूल चढाएर मृतक प्रति श्रद्धाञ्जली प्रकट ग¥यौं’ घटनाका घाइते कृष्ण अधिकारीले भने जिल्लाबाट नेपाली कांग्रेसका सचिव धुर्व पोख्रेल लगायतका नेता आउनुभएको थियो ।’
घटना भएको लामो समय हुँदा पनि पिडितले न्याय नपाएको र अवस्था दयनीय भए पनि सरसहयोग नपाएको गुनासो पीडितले गर्दै आएका छन् । विष्फोट लगत्तै माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले उक्त घटना ‘जनयुद्धकाल कै सबैभन्दा दुखद’ भएको प्रतिकृया दिँदै क्षमा मागेका थिए । उनले घटनास्थलमा बनाइएको स्मारकमै पुगी आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा गरे । साथै आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी २०७४ मंसिर १७ गते ३ बुँदे सहमति पनि गरे। अहिलेसम्म कार्यन्वयन नभएको घटनाका घाइते राधेश्याम भण्डारी बताउँछन् ।
२०७४को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन भएका प्रचण्डले मृतकका आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार वा स्वरोजगार, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाका लागि पठन पाठनको व्यवस्था गर्ने बताएका थिए ।
























