Breaking News
मौसमले हामीलाई धोका दियो: प्रचण्ड

पोखरा, जेठ १०-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू पार्टीको मध्यपहाडी अभियानअन्तर्गत शुक्रबार (जेठ ९) साँझ पोखरा आइपुगे । गण्डकी प्रदेशको राजधानी भएका कारण पोखरामा शनिबार बृहत् ‘जनसंवाद’ गर्ने तयारी थियो । तर, शुक्रबार रातिदेखि बिहानैसम्म पोखरामा वर्षा भयो ।
चिप्लेढुंगामा गर्ने भनिएको कार्यक्रम पानी परेपछि अन्योल भयो । शनिबार आयोजित कार्यक्रममा कास्कीबाहेक अरू जिल्लाबाट पनि नेता–कार्यकर्ता पोखरा आउने तयारी थियो । तर, मौसम प्रतिकूल हुँदा चिप्लेढुंगा छाडेर पार्टी प्यालेसमा कार्यक्रम गर्ने तयारी गरियो ।
“मौसम पूर्वानुमान महाशाखासँगको परामर्श र पार्टी केन्द्रीय कार्यालयको निर्णयानुसार आज पोखरा अनि आसपासका क्षेत्रमा मौसम बदली रहने भएकाले चिप्लेढुंगामा गर्ने भनिएको कार्यक्रम स्थगित गरी निम्न स्थानमा सारिएको छ,” माओवादी केन्द्रका नेताहरूले यो सन्देश सामाजिक सञ्जालमा प्रवाह गरे ।
योसँगै कार्यक्रममा अरू जिल्लाबाट सहभागी हुन नेता–कार्यकर्ता नआउने भए । शीर्ष नेताको कार्यक्रम पोखरा महानगरपालिका–१२ को कार्यालयनजिक एसआरकेसी पार्टी प्यालेसमा तय गरियो ।
उक्त सन्देशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको परामर्श भनिएको थियो । तर, पोखरामा घाम चर्कियो । पानी पर्ने छाँट देखिएन ।
चिप्लेढुंगाको खुला सडकमा गरिने भनिएको कार्यक्रम एउटा पार्टी प्यालेसमा सीमित हुन पुग्यो । कार्यक्रममा सम्बोधनक्रममा प्रचण्डले आफूहरूलाई मौसमले ‘धोका’ दिएको बताए ।
“जुन उत्साहको साथ पोखरामा यो अभियानको सबैभन्दा ठूलो सभा हुने विश्वास गरिएको थियो, त्यो हुन सकेन,” प्रचण्डले भने, “अहिले बाहिर पानी पर्ने भएको हुनाले होइन, बेस्सरी घाम लागेकाले घाम छल्न कोठामा आएजस्तो हुन पुग्यो ।”



























