Breaking News
बालेनले गरे कार्यपालिकामा जिम्मेवारी हेरफेर, प्रवक्ताबाट हटाइए नवीन

काठमाडौं,जेठ १-
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार (आज) बसेको बैठकले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम ९१० बमोजिम नयाँ संयोजक तोकिएको हो।
संयोजक परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन्। यी समितिमा क्रमशः नवीन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए। अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापती, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।
त्यसो त जिम्मेवारीबाट हटाइएका संयोजकहरू बालेनको आलोचना गर्ने वडाध्यक्षहरू हुन्। त्यसमा पनि प्रवक्ताको जिम्मेवारीमा रहेका वडा नं। १७ को वडाध्यक्ष नवीन मानन्धरसँग पछिल्लो समय बालेनको लय मिल्न छाडेको थियो। नवीनले पछिल्लोपटक प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउने सन्दर्भमा अग्रणी भूमिकामा थिए।
























