चितवन विशेष
चितवनमा घर बनाउने मेला सुरु

चितवन,भदौं २५-
चितवनमा घर बनाउने मेला सुरु भएको छ । नारायणगढस्थित उद्योग बाणिज्य संघको परिसरमा आज (बिहीबार) देखि सुरु मेलाको बागमती प्रदेशका बन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री सिलवालले एउटै छानामुनी घर बनाउने सबै जानकारी र सामाग्री उपलब्ध हुने मेला महत्वपूर्ण रहेको बताउनुभयो । जिवनमा एक पटक बनाइने घर निर्माण गर्दा धेरै कुराको जानकारी लिनुपर्ने भन्दै उहाँले घर बनाउने मेला उपयोगी हुने बताउनुभयो ।
‘राज्यलेनै घर बनाउने र खेती गर्ने ठाउँको बर्गिकरण गरिदिन आवश्यक छ,उहाँले भन्नुभयो,देशकै स्रोतसाधन उपयोग गरेर घर निर्माण गरिनुपर्छ । मन्त्री सिलवालले घर निर्माण गर्दा भुकम्प प्रतिरोधी र आफुलाई उपयोगी हुने खालको निर्माण गर्न सुझाब दिनुभयो । आफ्नो दक्षता अनुसार नेपाली पन झल्कने घर निर्माणका लागि प्राविधिकले सुझाब दिनुपर्ने भन्दै उहाँले प्रदेश सरकारले पनि वन जंगलको संरक्षण गरेर उपयोग गर्ने नीति अबलम्बन गरिरहेको बताउनुभयो । नेपालको जल, जंगल र जडिबुटी प्रगयो गरेर संमृद्धी हाँसिल गर्ने हो,उहाँले भन्नुभयो,अव जंगलमा ढलेको रुख देख्न पाउनुहुने छैन,प्रदेश सरकारले सोही अनुरुपको योजना बनाउँदैछ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले मेलाले घर निर्माण गर्न चाहाने नागरिक र व्यवसायीलाई जोड्ने काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीको व्यवसाय प्रबद्र्धन र बजारलाई आर्थिक रुपमा चलायमान बनाउन मेला महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आयोजना गरिएको हो ।
२७ गतेसम्म चल्ने मेला एसवन होम्स र भी ग्रुपले आयोजना गरेका हुन । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । मेलामा नयाँ नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ ।

यसप्रकारको मेला चितवनमा नै पहिलोपटक आयोजना गरिएको आयोजक निर्माण कम्पनी एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घरजग्गा कारोबार, निर्माण तथा निर्माण सामग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छातामुनि सबै प्रकारका सेवा तथा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो । ‘यो मेलाले व्यवसायी र सेवाग्राहीबीच प्रत्यक्ष भेटघाट गराउँछ’, न्यौपानेले भन्नुभयो,घर जग्गाका लागि धेरै ठाउँ भौतारिनुपर्ने बाध्यता हट्नेछ ।’
मेलामा घर बनाउन चाहिने आवश्यक सामग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा जानकारी गराइने भी ग्रुपका अध्यक्ष विपीन कँडेलले जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्रविन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पूर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गरेका हौँ’, कँडेलले भन्नुभयो । घर तथा भवन निर्माण गर्दा चाहिने सामग्रीको जानकारीका साथै घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबीच पनि भेट गराइने कँडेलले बताउनुभयो । उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी, विज्ञ, उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, अन्तक्र्रियालगायतका कार्यक्रम हुनेछन् ।
मेलामा घरजग्गा, निर्माण सामग्रीलगायतका गरी २५ वटा स्टल रहेका छन । मेलाले निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने आयोजको अपेक्षा छ । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा मेला आयोजना गरिएको हो ।
























