मनोरञ्जन
‘यो मन त मेरो नेपाली हो’ को खैजडी गीत सार्वजनिक

काठमाडौं, वैशाख २०-
आउँदो असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक खैजडी गीत ‘हेर लौ नेपाल आमाको’ मा नेपालको इतिहास देखि बर्तमान सम्मको बयान गरिएको छ ।
अनिश अधिकारीको गायन तथा शब्द संकलन गरेको यस गीतमा चलचित्रका मुख्य कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजबन्शी र अनिश अधिकारीलाई फ़िचर्ड गरिएको छ । चलचित्रको यसअघि सार्वजनिक गीत ‘तिम्रो आँखै रसिलो’ लाई दर्शकले मन पराएका छन् । सार्वजनिक नयाँ गीतमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।चलचित्र दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स ,कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
























