चितवन विशेष
उद्योगी व्यवसायीलाई डिजिटल साक्षरता र साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण

भरतपुर,बैशाख १९-
राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवसको अवसर पारेर चितवनका उद्योगी व्यवसायीका लागि डिजिटल साक्षरता र साइबर सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम उद्योग वाणिज्य संघ चितवन र कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको सयुक्त आयोजनामा भएको हो । कार्यक्रममा डिजिटल उपकरण प्रयोग गर्ने तरिका र त्यसका नीति निमयमका बारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेकोमा यस वर्षदेखि सूचना प्रविधिलाई पनि विकासको पूर्वाधारको रुपमा अगाडी बढाएको बताउनुभयो । अहिलेको प्रतिस्पर्धात्मक समयमा प्रविधिसंग जोडिन र व्यवसाय प्रवद्र्धन गर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।
कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले देशमा पछिल्लो समय साइबर हमलाका घटना बढ्दै गइरहेको भन्दै सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिको सदुपयोग र दुरुपयोग दुबै हुने गरेको भन्दै राज्यका निकायले पनि यसबाट हुने जोखिम कम गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीलाई प्रविधिको प्रयोग गरेर व्यवसायीक लाभ लिन आग्रह गर्नुभयो ।
कम्प्यूटर एशोसियसन नेपालका केन्द्रीय सदस्य भानु शर्माले नेपालको समग्र विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपालमा सूचना प्रविधिको विकासको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा ई.राजकुमार सापकोटाले डिजिटल साक्षरताका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर दिपक प्रसाद रिजाले साइबार सुरक्षाका बारेमा प्रष्ट पार्नुभएको थियो ।
सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्यज्यूहरु, क्यान चितवनका पदाधिकारी कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरु लगायत उद्योगी व्यवसायी गरी ७० जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवम् सूचना प्रविधि व्यवस्थापन समितिका संयोजक सन्तोष जनक भुसालले सञ्चालन गर्नुभएको थियो ।