चितवन विशेष

जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

Banner

चितवन, वैशाख १७-

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा सङ्कलन गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी तीमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको हो । ती गुँडमा रहेका दुई सय ३२ वटा अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो ।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ वटाका अण्डा निकालिएको थियो । यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा सङ्कलन सुरु गरिएको थियो । गत वर्ष दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गोहीको प्राकृतिक रूपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा सङ्कलन गरेर गोही प्रजनन केन्द्रमा ल्याउने गरेका छौँ ।”

गोहीको अण्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने भएकाले अण्डा सङ्कलन गरेर केन्द्रमा ल्याउने गरिन्छ । प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरू र अन्य जनावारबाट हानिनोक्सानी हुने र कतिपय गुँड नदीमा बाढी आउँदा बगाउने भएकाले अण्डा सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । अण्डा सङ्कलनका लागि निकुञ्जका छ जना कर्मचारी सहभागी छन् ।

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गर्दछ । कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किनका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण पुनः फर्किएर आउन नसक्ने समस्या रहेको निकुञ्जका सूचना अधिकारी मगरको भनाइ छ ।

कतिपय गोही माछा मार्न प्रयोग हुने तियारी जालमा फसेर मर्ने गरेका छन् । नदीजन्य पदार्थ उत्खननलगायत मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>