चितवन विशेष

दीर्घरोगीका लागि सहयोगी बन्दै सतनचुली सामुदायिक वन

Banner

पवन पण्डित,

भरतपुर,बैशाख ५-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित सतनचुली सामुदायिक वन उपभोक्ता समूहले दीर्घरोग लागेका आफ्ना सदस्यलाई आर्थिक सहयोग गरिरहेको छ । वनले मृगौला र क्यान्सर पीडित सदस्यहरुलाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग गर्दै आइरहेको हो ।

वनका अध्यक्ष चुडामणि गुरुङका अनुसार एक वर्षको अवधिमा नौ जना सदस्यलाई आर्थिक सहयोग गरिएको छ । ‘वन संरक्षणसँगै उपभोक्तालाई सामुदायिक वनको सदस्य भएको अनुभूति दिलाउन आर्थिक सहयोग गरिएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म १ लाख ८० हजार रुपैयाँ रकम दीर्घरोगका बिरामीहरुका लागि खर्च भएको छ ।’ उहाँले वनले यस वर्षदेखि सदस्य परिवारका सुत्केरीलाई एम्बुलेन्स भाडावापत एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

वनले आफ्ना उपभोक्तालाई आयआर्जनसँग जोड्न यो आर्थिक वर्षबाट समूहमार्फत बाख्रापालनको कार्यक्रम पनि अघि बढाएको उहाँले बताउनुभयो । सतनचुली वनले महिलाहरुलाई आयआर्जनसंग जोड्न अचार, जुस र सस बनाउने तालिम समेत प्रदान गरेको छ । यस्तै वडासँगको सहकार्यमा छिट्टै कौसीखेती तालिमको समेत तयारी गरिएको गुरुङले बताउनुभयो ।

यस वनको संरक्षित क्षेत्रमा प्रज्ञा पार्क, पुष्प वाटिका पार्क र लखनथापा पार्क रहेका छन् । जसले पर्यापर्यटनमा समेत टेवा पु¥याएको उहाँले बताउनुभयो । यस वनको आम्दानीको स्रोत भनेकै काठ हो । यसवर्ष ५० लाख बजेट रहेको र त्यसबाटै संरक्षण र आयआर्जनका काम गरिएको वनका सदस्य अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । उहाँले वनभित्र रहेका बेलटाँडी ताल, जुकेढाप तालको संरक्षणको काम गरिएको भन्दै यहाँ बाघ, मृग, जरायो, बँदेल लगायतका वन्यजन्तु रहेको जानकारी दिनुभयो ।

सतनचुलीमा हस्तान्तरित क्षेत्र एक सय ९८ दशमलव १० हेक्टर र संरक्षित क्षेत्र एक हजार दुई सय १४ दशमलव ५५ हेक्टर रहेको छ । सामुदायिक वनले चोरी शिकारी नियन्त्रण र डढेलो नियन्त्रणका लागि रात्रिकालीन गस्ती समेत गरिरहेको जनाएको छ । यस सामुदायिक वनमा नौ सय ३५ जना उपभोक्ता रहेका छन् । बरण्डाभार क्षेत्र अन्तरर्गत पर्ने यस सामुदायिक वन वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>