Breaking News

टोखाबाट बरामद २५ करोडका मालिक भेटिए, माओवादीनिकट विवादित व्यापारी भएको पुष्टि

Banner

काठमाडौं,चैत २०-

टोखाबाट ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ घर भई टोखा नगरपालिका १० महादेवटार हाइटमा बस्ने नारायण पौडेलले चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ।

विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार पौडेलले नै ट्रक चालकलाई उक्त रकम चीन लैजान भन्दै दिएका थिए। पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रनिकट व्यापारी २०८० असारमा जुवाखालबाट पक्राउ परेका थिए।

२१ वर्ष पहिले पनि उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनी रक्तचन्दनको तस्करीमा समेत मुछिएका थिए। चीनबाट कपडाको व्यापार गर्दै आएका पौडेल पछिल्लो समय सुन तस्करीमा लागेको निष्कर्षमा विभाग छ। उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ। राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरु समेत नियन्त्रणमा लिइसकेको र पौडेल भने ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ गते राति ट्रकमा युरो र अमेरिकी डलर गरी नेपाली रूपैयाँ २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको थियो। त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बस्ने फुच्चे भन्ने ४३ वर्षका कुसाङ लामा त्यतिबेलै पक्राउ परेका थिए। उनलाई अहिले पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो। ट्रकमा उक्त रकम लिएर कपडा किन्न चीन जान लागेको कुसाङले बताएका थिए। प्रहरीले भने यो रकम सुन तस्करीको भएको सुरुमै अनुमान गरेको थियो।

उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए। यसको नेपालीमा विनियम गर्दा करिब २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउँछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area