Breaking News

‘सूचना प्रवाहलाई व्यवस्थित बनाउन सुझाव’

Banner

चितवन, चैत १६-

सूचना प्रवाहलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षले सुझाव दिएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासंघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरेको ‘सूचनाको हक प्रयोग सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सरकारी कार्यालयमा भएका सूचना सहज रुपमा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले सूचना अधिकारीहरु कार्यालयमा भएका गतिविधिमा अपडेट हुनुपर्ने भन्दै सूचनाहरु आफ्नो वेबसाइडमा राख्न समेत निर्देशन दिनुभयो । उहाँले सूचनाको हक नियामवली, कार्यविधि निर्देशिकाले सुनिश्चतता गरेको उल्लेख गर्दै सूचना अधिकारी प्रवक्ता जत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
‘अफिसमा भएका सूचना सबै दिन मिल्छ,’ उहाँले भन्नुभयो ‘सूचना माग गर्ने व्यक्तिलाई लुकाउनुपर्ने अवस्था छैन ।’ उहाँले विषय केन्द्रित सूचना माग हुनुपर्ने भन्दै सूचनाको वर्गीकरण नहुँदा समस्या भएको बताउनुभयो । उहाँले लिखित रुपमा सूचना माग गरेमा कारबाही गर्न सजिलो हुने भन्दै सूचना नपाएमा उजुरी गर्न समेत माग गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले विगतका वर्षमा चितवनमा सूचना नपाएको गुनासो सुन्दै आएपनि अहिले न्यूनीकरण हुँदै गएको बताउनुभयो । उहाँले स्वतःस्र्फूत रुपमा सूचना दिने बानीको विकास हुनपर्ने समेत बताउनुभयो । बागमती प्रदेश सूचना पुनरावेदन आयोगका अध्यक्ष हरि अधिकारीले सूचनाको हक सुशासन र लोकतन्त्रको जग रहेको उल्लेख गर्दै यसप्रति सूचना दिने निकाय सकरात्मक हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले बागमती प्रदेश सूचना पुनरावेदनमा सरकारी कार्यालय मात्र नभएर निजी तथा गैरसरकारी संस्थाबाट समेत सूचनाको हकबाट बन्चित भएको गुनासो आउने गरेको र त्यसमा आफूहरुले सम्बोधन गर्दै आएको उल्लेख गर्नुभयो । सूचनाको हकका लागि राष्ट्रिय महासंघ चितवन शाखाका अध्यक्ष वसन्त ढुङ्गानाले सूचनाको हकको कानुनी अवस्था र चितवनमा गरिएको अध्ययन प्रस्तुत गर्नु भएको थियो ।
सूचनाको हकसम्बन्धमा सूचना मागकर्ता र सूचनाको स्रोत रहेका सरकारी संस्थामा गरिएको अध्ययन अनुसार सरकारी कार्यालयबाट लिइएको सूचनाको दुरुपयोग नभएको र सार्वजनिक महत्वका सूचना बढी मागिने गरेको देखाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ढुङ्गानाले सूचना माग्ने संस्कृति विकास हुँदै गएको बताउँदै सूचना माग गर्नेमा अन्य पेशाकर्मीभन्दा पत्रकार बढी रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले सूचना अधिकारी आफ्नो कार्यालयमा भएका गतिविधिसँग जानकार नहुने बताउँदै सूचना अधिकारीसँग नै सूचना नहुने बताउनुभयो ।
उहाँले सूचना प्रवाहका लागि प्रविधिको प्रयोग गर्न सूचना अधिकृतलाई सुझाव दिनुभएको छ । पत्रकार रमेश कुमार पौडेलले चितवनका कुनै कुनै कार्यालयमा सार्वजनिक महत्वका सूचना दिन पनि ढिलाई हुने गरेको बताउनुभयो । सूचना अधिकारीहरुले पनि आफ्नो अनुभव साझा गर्नुभएको थियो । सूचना अधिकारीहरूले सही उद्देश्यले मागिएको सूचनामा सहयोग गर्न आफूहरु सधै तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माडी नगरपालिकाका सूचना अधिकृत प्रविण भण्डारीले सूचना दुरुपयोग हुने हुँदा विश्वसनिय व्यक्तिलाई सूचना दिन सहज हुने बताउनुभयो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी, नागरिक समाजका प्रतिनिधि र विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>