Breaking News

प्रधानमन्त्री विरुद्ध लेखिएको अपशब्दका विषयमा कार्यालय प्रमुखमाथि २४ घण्टे स्पष्टिकरण, दोषी देखिए कारबाही गरिने

Banner

चितवन,चैत १२-

नेपाल विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको अपशब्दका विषयमा छानविन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले प्रधानमन्त्री विरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्दलेखिएको विषयमा कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो । कार्यालयको डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएपछि कार्यालय प्रमुख सहित कर्मचारी छानविनको दायरामा आएका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले घटनाका सम्बन्धमा स्पष्टिकरण सोधेर कारबाही प्रकृया अगाडि बढाइएको बताउनुभयो ।
‘घटनाको विषयमा बुझ्ने क्रमजारी छ । हामीलले घटना थाहा पाएपछि कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टिकरण सोधेका छौँ,’ उहाँले भन्नुभयो ‘स्पष्टिकरणको पत्र आएपछि कारबाही अगाडि बढाउँछौँ ।’ यो घटना हिजो दिउसो १२ बजे तिरको हो । कार्यालयले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको दाबी गरेको छ । साथै प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको घटनाबारे छानबिन हुनुपर्ने माग पनि कार्यालयले गरेको छ ।

कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठले आफुलाई फसाउनका लागि विद्युत कार्यालय भित्रका कर्मचारीले नियोजित खेल खेलेको बताउनुभयो । ‘गल्ति नहुँदा नहुँदै मलाई घानमा पारिएको छ । हिजोको दिउँसो १२ बजे तिर ह्याक भएर पाँच मिनेट जति प्रधानमन्त्री विरुद्ध अपशब्द लेखिएको थियो । घटना थाहा पाउँदा बित्तिकै हटाएका थियौँ’, उहाँले भन्नुभयो ‘हिजोको घटनालाई अतिरञ्जित बनाउन हाम्रै कर्मचारीले आज बिहान ९ बजेतिर फेसबुकमा राखिदिए ।’ आफूसँग असन्तुष्ट कर्मचारीका कारण समस्या सृजना भएको उहाँको दाबी छ । डिजिटल बोर्डको नियन्त्रण पहुँच भने आफूसँग मात्र भएको उहाँले बताउनुभयो ।

डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दहरू देखिएपछि मंगलबार एक समूहले कार्यालयमा प्रवेश गरी केन्द्र प्रमुखमाथि कुटपिट गर्नुका साथै तोडफोड गरेका छन् । मंगलबार बिहान करिब १० बजे ३५–४० जनाको समूह कार्यालयमा प्रवेश गरी वितरण केन्द्रका प्रमुख श्रेष्ठलाई कार्यकक्षमै कुटपिट गरेको दाबी गरिएको छ । सो क्रममा आक्रमणकारीहरूले कम्प्युटर, टेबललगायतका सामग्री तोडफोड गरेका छन् । यसै विषयमा युवा संघ र अनेरास्ववियूको टोली मंगलबार ध्यानाकर्षण पत्र बुझाउन सिडिओ कार्यालयमा पुगेका थिए । उनिहरुले विद्युत कार्यालयमा ध्यानाकर्षण गराउन पुगेको तर आफुहरुले आक्रमण र तोडफोड नगरेको दाबी गरेका छन ।
नेकपा एमालेका नेता जेएन थपलियाले देशको सम्मानित प्रधानमन्त्रीको बारेमा एउटा विद्युत प्राधिकरण जस्तो संस्थाबाट डिजिटल बोर्डमा आपत्तिजनक शब्द देखिनु नियोजित भएको बताउनुभयो । ‘कार्यालय प्रमुखको गतिविधि निन्दनिय र खण्डन योग्य छ । यो घटना अचानक घटेको होइन प्रायोजित भएको छ‘, उहाँले भन्नुभयो ‘विद्यार्थी र युवाहरुबाट आक्रोशित भिडले तोडफोड गरेछ स्वागत योग्य होइन । यो आवेशको परिमाण हो ।’

यता विद्युत प्राधिकरण परिवारले सार्वजनिक अपिल जारी गर्दै कार्यालयभित्र तोडफोड र आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । घटना बिषयमा भरतपुर वितरण केन्द्रले कडा निन्दा गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘’प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिविरुद्ध गरिएको अपशब्द संविधान र कानुन विपरीत हो । घटनामा संलग्न व्यक्तिहरूलाई साइबर अपराध ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही होस्।‘’
प्राधिकरणले डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीलाई गालीगलौज लेखिएको घटनालाई आपत्तिजनक र गैरकानुनी भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ । साथै, कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको भन्दै तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ । कार्यलय प्रमुख श्रेष्ठले आफु उपचारका लागि काठमाडौँ पुगेको बताउनुभएको छ । ‘मलाई बिहान आएर हातपात गरे,’ टेलिफोनमा श्रेष्ठले भन्नुभयो, ‘त्यहाँ असुरक्षित भएपछि उपचारका लागि अहिले काठमाडौँ आएको हुँ ।’ सरकारले सोमबार (हिजो) विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो । हिजो बिहान नै भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा देखिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बूले विद्युत कार्यालयका प्रमुखसहितको टीम र युवाका तर्फबाट नेतृत्व गरेका टीमलाई छलफलका लागि बोलाइएको बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>