Breaking News

‘विषादी न्यूनिकरण गर्न नीति आवश्यक छ’

Banner

चितवन, चैत ६-

कृषिमा प्रयोग गरिने रासायनिक विषादीको न्यूनिकरणका लागि नीति बनाउन सरोकारवालाले सुझाव दिएका छन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तरगर्तको कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाले बुधबार (आज) भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीले नेपालमा उत्पादित तथा आयातित तरकारीमा विषादीको व्यापक प्रयोग हुने भएकाले कानुन बनाएर विषादी न्यूनिकरण गर्नुपर्ने धारणा राखेका हुन् ।

कीटनाशक विषादी न्यूनीकरण र सुरक्षित उपयोग विषयक कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर–१५का वडाध्यक्ष श्रीकृष्ण देवकोटाले स्थानिय तथा प्रदेश सरकारले विषादी न्यूनिकरणका लागि न्यूनतम मापदण्ड बनाउनुपर्ने बताउनुभयो । ‘उत्पादन बढाउन प्रतिबन्ध लगाएका विषादीको प्रयोग पनि प्रयोग भइराखेको छ,’ उहाँले भन्नुभयो ‘स्थानीय सरकारले कुनै मापदण्ड बनाएर नियन्त्रण नगर्ने हो भने बिषादीको प्रयोगको अवस्था अझ भयाभह हुने देखिन्छ ।’

अर्गानिक वस्तुको प्रोत्साहनका लागि उपभोक्ताले पनि मुल्यांकन गर्नुपर्ने उहाँको भनाई छ । ‘विषादी हालेको हेर्दा टल्किन्छ । उपभोक्ताले राम्रो देखेर त्यही किन्छन्,’ उहाँले भन्नुभयो ‘अर्गानिक र ननअगार्निक वस्तुको मुल्य समेत फरक राख्नुप¥यो ।’ उहाँले उपभोक्ताले पनि प्राङगारिक खेती गरेका किसानको तरकारी उपभोग गरेर किसानलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बिषादी नियन्त्रणका लागि आफ्नो वडामा विषादी प्रयोग कर्ताको विवरण संकलन गर्न लागेको समेत जानकारी दिनुभयो ।

जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले रासायनिक विषादी प्रयोग गरिने ट्याङकीमा जैविक विषादी प्रयोग गर्नेगरी कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ । कृषि प्राकृतिक बरदान भएको भन्दै नीति नियमका कारण रासायनिक विषादीको बढ्दो प्रयोग भइरहेको बताउनुभयो । ‘रासायनिक मलमा सरकारले अनुदान दिइरहेको छ । प्राङ्गारिक मलमा अनुदान दिएको छैन’, उहाँले भन्नुभयो ‘यस्ता विभेदकारी नियमका कारण माटोको उर्भराशक्ति समेत गुम्दै गएको छ ।’ उहाँले रासायनिक विषादी प्रयोगभन्दा प्राङगारिक तवरबाट खेती गर्दा उत्पादन बढी लिन सकिने बताउँदै प्राङगारिक रुपमा खेती गरिरहेका किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले किसानहरुले भेडे खुर्सानीमा १७ पटकसम्म विषादी छर्कने गरेका छन् ।

वातावरण संरक्षणकर्मी वसन्त रानाभाटले बढ्दो विषादी प्रयोगका कारण वन्यजन्तु तथा पशुपन्छिमा समेत असर परिरहेको बताउनुभयो । किसानहरुले अन्धाधुन्द विषादी प्रयोग गरिरहेको बताउँदै सुरक्षा मापदण्ड बनाउनुपर्ने धारणा राख्नु्भयो । ‘किसानले बारीमा विषादी हाल्दा वन्यजन्तु र चराचुरुङ्गीलाई समेत प्रत्यक्ष असर पुगेको छ,’ उहाँले भन्नुभयो ‘कति चराहरु त विषादी खाएर ठाउँको ठाउँमा मरेको पनि भेटेका छौँ ।’ उहाँले विषादील पर्यावरणमा समेत असर पुगेको बताउनुभयो ।

कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाकी प्रबन्धक सृजना भट्टराईले विषादी न्यूनिकरणका लागि सरोकारवाला पक्ष सबै लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्राङ्गारिक खेती सम्बन्धि तालिम लिएका किसानहरुले विषादी न्यूनिकरण सम्बन्धी एक अर्कालाई ज्ञान बढ्नुपर्ने बताउनुभयो । उहाँले परियोजना मार्फत कृषक, विषादी बिक्रेता, पेशागत विषादी छर्कने व्यक्ति, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा उपभोक्ता मार्फत विषादी न्यूनिकरणका प्रयास समेत गरिरहेको बताउनुभयो । ‘तीन वर्षको अवधिमा विषादी न्यूनिकरणसम्बन्धी जनचेतना मुलक सडक नाटक, विषादी अन्वेषण प्रयोगशाला स्थापनामा समन्वय, प्रदेश सरकारलाई बिषादी न्यूनिकरण निर्देशिका हस्तान्तरण लगायतका उपभोक्ता सशक्तिकरण सम्बन्धी राष्ट्रिय स्तरमा पैरवी गरेका छौँ,’ उहाँले भन्नुभयो ‘बिषादी न्यूनिकरणका लागि उत्पादन सहित बजार व्यवस्थापन गर्ने गरी नीति आवश्यक छ ।’

न्यूरेनी ताजा तरकारी सहकारी संस्थाका सचिव जयराम सुवेदीले बिषादी प्रयोग नगरी तरकारी उत्पादन गर्न सकिने बताउनुभयो । अफ सिजनको तरकारी र फलफुल नखान सुझाव दिँदै सिजन अनुसारको तरकारी खान समेत आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>