क्रिकेट
भरतपुर मेयर्स कप क्रिकेटः अरोमाको सान्त्वना जित

चितवन, फागुन १०–
भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा अरोमा इङलिस स्कुलले सान्त्वना जित निकालेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज लिग चरणको आफ्नो अन्तिम खेलमा अरोमाले प्रेरणा इङलिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै लिगमा सान्त्वना जित निकालेको हो । योसंगै ४ खेलमा ३ मा हार र एकमा जित गरी २ अंकका साथ दोस्रो संस्करणको मेयर कपमा आफ्नो यात्रा टुङग्याएको छ ।
अरोमको जितमा विगनेश थापाले २७, सुवास भट्टराईले २३ रनको योगदान दिए । प्रेरणाका स्पर्श सुवेदी र सचिन कुमार महतोले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रेरणाले १९ ओभरमा ८० रन बनाउँदै अलआउट भयो । उसका लागि राजु कुमार यादवले १६ र अजय ज्ञवालीले १४ रन बनाए । प्रेरणालाई सस्तैमा समेट्न अरोमाका सौरभ क्षेत्रीले ३ र आयुष कोइरालाले २ विकेट लिए । सौरभ प्लेयर अफ दि म्याच घोषित भए ।
समूह ‘बी’मा रहेको अरोमाको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना सकिए पनि प्रेरणाको अझै संभावना जिवितै छ । ३ खेलमा २ मा हार र एकमा जित निकालेको प्रेरणाको २ अंकको छ । प्रेरणाले आफ्नो अन्तिम खेलमा नारायणी नमुना माविसंग खेल्ने छ । उक्त खेलमा विजयी भए प्रेरणालाई लक्ष्मी मावि र सनराइज इङलिस स्कुलको नतिजाले सेमीफाइनल पुग्ने अवस्थाको टुंगो लाग्ने छ । नारायणी मावि भने एक खेल अगावै समूह ‘बी’बाट सेमीफाइनलमा प्रवेश गरेको छ ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।
























