खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः अर्किडको लगातार तेस्रो जित

चितवन, फागुन ८–
भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा अर्किड इङलिस स्कुलले लगातार तेस्रो जित निकालेको छ । यो जितसंगै अर्किड समूह ‘ए’को शीर्ष स्थानमा यथावत रहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा अर्किडले नारायणी इङलिस पब्लिक स्कुललाई ४७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अर्किडले २९.१ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान मन्दिप बराले ५३ रन बनाउनुभयो भने सन्देश सुवेदीले ७ रन बनाउनुभयो । नारायणी पब्लिकका भिजन श्रेष्ठ र प्रिन्स कार्कीले समान २–२ विकेट लिनुभयो ।
१०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नारायणी पब्लिक २४.१ ओभरमा ५७ रनमै अलआउट भयो । उसका लागि कृष्ण मगरले १५ र प्रविन रानाभाटले १० रन बनाउनुभयो । नारायणी पब्लिकलाई अलआउट गर्न अर्किडका कप्तान मन्दिप बरालले ६ ओभरमा १२ रन खर्चिदै ४ विकेट लिनुभयो भने सन्देश सुवेदीले ५ ओभरमा १३ रन खर्चिदै ३ विकेट लिनुभयो । अर्किडका कप्तान मन्दिप प्लेयर अफ म्याच घोषित हुनुभयो ।
प्रतियोगिता अन्तरगत भोलि (शुक्रबार) चितवन मावि र वाल्मीकि शिक्षा सदनबीच प्रतिस्पर्धा हुनेछ ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।
























