Breaking News
वीरगञ्जबाट भरतपुर आएको १० दिनमात्र भएको थियो, गएराति मोटरसाइकल दुर्घटनामा परी मृत्यु

चितवन, फागुन २-
भरतपुर महानगरपालिका–१० विशाल चोक नजिक भित्रि बाटोमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका छन् ।
गएराति १२ः४० बजेको समयमा ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सिमेन्टको गमलामा ठोक्किँदा वीरगञ्ज घर भइ हाल भरतपुर–१० पुरानो मेडिकल कलेज अगाडि डेरा गरी बस्ने वर्ष २८ को प्रतिक श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनी वीरगञ्जबाट भरतपुर आएको १० दिनजति मात्रै भएको उनका साथी धनुषा जनकपुर उपमहानगरपालिका–८ घइ भइ हाल चितवन मेडिकल कलेजमा कार्यरत डा बिक्रान्त नायकले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रीवास्तवलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा गएराति १ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकल पछाडि सवार भरतपुर–१० हाकिमचोक बस्ने वर्ष २८ को विवेक चापागाईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।