चितवन विशेष

भरतपुर २० मा वन हेल्थ नेपालको स्वास्थ्य शिविर

Banner

चितवन, माघ २७–

वन हेल्थ नेपालले स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं. २०, रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउन, रोटर्याक्ट क्लब अफ चितवन र एग्रीकल्चर स्टुडेन्ट लायजन फोरमको सहकार्यमा ‘वन हेल्थ क्याम्प तथा औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । यस शिविरले स्वास्थ्यका तीन मुख्य स्तम्भ—पशु स्वास्थ्य, मानव स्वास्थ्य, र वातावरणीय स्वास्थ्यलाई समेट्दै भरतपुर–२० दोद्रेनीमा संचालन गरिएको हो ।

यस शिविरबाट १५० भन्दा बढी किसान परिवार लाभान्वित भएका थिए । जहाँ गर्भ परीक्षण, फिकल तथा मास्टाइटिस परीक्षण, विभिन्न रोगको निदान तथा उपचार प्रदान गरिनुका साथै किसानहरूलाई जनचेतना र परामर्श दिइएको थियो। शिविरमा ५३ पशुहरूमा पीपीआर विरुद्धको खोप तथा २३ कुकुरहरूमा रेबीज विरुद्धको खोप लगाइएको थियो। मानव स्वास्थ्य पक्षमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण र सामान्य स्वास्थ्य परामर्श स्वास्थ्यकर्मीहरूले दिएका थिए ।

जसबाट १०० भन्दा बढी व्यक्ति लाभान्वित भएको आयोजकले जनाएको छ। वातावरणीय स्वास्थ्यतर्फ किसानहरूले ल्याएका २५ भन्दा बढी माटोको नमुना परीक्षण गरिनुको साथै अधिक उत्पादन तथा माटो संरक्षणका लागि आवश्यक समाधानहरू प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मुक्तिप्रसाद घले रहेका थिए । उनले महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेकोमा आयोजक टिमलाई धन्यवाद दिए । कार्यक्रममा प्रा.डा. रामप्रसाद पौडेल, सह–प्रा.डा. अनिल कुमार तिवारी, सहायक प्रा.डा. शत्रुघ्न शाह, डा. सुशील रायलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>