Breaking News

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाईयो, भोलि पुनः अदालतमा उपस्थित गराइने

Banner

चितवन, माघ २३–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।

थुनछेक बहस नसकिएपछि चितवन जिल्ला अदालतले लामिछानेलाई आज प्रहरीको जिम्मा लगाएको हो । न्यायाधीश दयाराम ढकालले थुनछेक बहस नसकिएपछि जाहेरवाला र प्रतिवादीतर्फको बहसपैरवी र थुनछेक गर्न भोलि विहान १० बजे अदालत उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाउन आदेश दिएका हुन् ।

आदेशलगत्तै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पु¥याईएको छ । अदालतबाट निस्किदा रास्वपाका कार्यकर्ताहरुले प्रहरीको गाडीसंगसंगै नाराबाजी गरेका थिए । उनीहरु जिल्ला प्रहरी कार्यालयसम्मै पुगेर नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुले आज प्रहरी कार्यालय भित्रै लामिछानेलाई राखिने बताए । उनले भोलि १० बजेनै अदालतमा उपस्थित गराइने बताए ।

लामिछाने आज विहान १० बजेअघि नै अदालतमा उपस्थित भएपछि न्यायाधीश दयाराम ढकालले ४ घण्टा लगाएर लामिछानेको बयान लिएका थिए । अपरान्ह पौने ४ बजेबाट थुनछेक बहस सुरु गरिएको थियो । आज पहिलो दिन ४ जनाले बहस गरेका छन् । सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने, सहायक न्यायाधीवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए ।

यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि आजलाई थुनछेक बहस स्थगित गरिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । सहकारीपीडितको तर्फबाट भोलि वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछ । यद्यपी अन्य अधिवक्ता पनि वकालतनामा दर्ता गराउने संभावना छ ।

प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न २ जना वरिष्ठ अधिवक्तासहित ८ जनाको वकालतनामा दर्ता गराएका छन् । लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्तासुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा.नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिम्सेना सहित १० जनाले बहस गर्ने अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>