Breaking News
रविको थुनछेक बहस सुरु

काठमाडौँ, माघ २३-
जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको हो। अहिले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रवि न्यौपानेले बहस थालेका छन्। आजै थुनछेक बहस नसकिए मुद्दा हेर्दाहेर्दैमा रहनेछ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो। सहारा सहकारी प्रकरणमा भने रवि लामिछानेलाई ठगीको अभियोग मात्र लगाइएको छ।
जम्मा ३२ प्रतिवादीमध्ये रविसहित २० जनालाई ठगीमा मात्रै र १२ जनालाई ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ। रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ।
गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ। यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ।