चितवन विशेष
प्रणय दिवसको अवसरमा सौराहा फुडफेष्टिबल हुँदै, सिंगारिदै सौराहा

चितवन, माघ २२–
प्रणय दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले १९औं खाना महोत्सव आयोजना गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गरी माघ २९ देखि फागुन ३ गतेसम्म चल्ने खाना महोत्सवको तयारी तीव्र पारिएको जनाएको छ । आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको खाना महोत्सवमा दैनिक ५ हजार पर्यटकको आवागमन हुने अनुमान गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले बताए । उनले महोत्सवमा रैथाने खानादेखि विभिन्न देशका परिकारसहितको स्टलहरु रहने बताए । यस अवधिमा सौराहा आउने पर्यटकहरुका लागि होटेल तथा रेष्टुरेन्टमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
खाना महोत्सव अवधिभर ३ करोडसम्मको कारोबार हुने अनुमान गरिएको कार्यक्रम संयोजक शम्भु मालीले बताए । खाना महोत्सव अवधिभर विभिन्न जातजातिको झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय जनजातिको खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर रेस प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगितालगायतका आकर्षणहरु समेत रहने आयोजकले जनाएको छ । महोत्सवको २ दिन टिकट व्यवस्था गरिएको छ भने बाँकी दिन निःशुल्क प्रवेश हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै रत्ननगर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष सजना महतोले यस फेष्टिबलले सौराहाको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । रेवानका महासचिव नविन नेपालले प्रणय दिवसको अवसरमा फुड फेष्टिबल गर्न लागिएकोले सोही अनुसार तयारी गरिएको बताए ।
फुडफेष्टिबल नजिकिदै जाँदा अहिले सौराहालाई सिंगार्न थालिएको छ ।