Breaking News
सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँः प्रचण्ड

दाङ, माघ ११-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सत्तामा रहँदा गल्ती नगरेको बताउनुभएको छ ।
पार्टीको तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई आज सम्बोधन गर्दै उहाँले नबिराउनु, नडराउनु भन्ने उखानजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको स्पष्ट पार्नुभयो ।
आफू प्रधानमन्त्री हुँदा नै अनुसन्धान गर्ने सबै संयन्त्रलाई यदि आफूमा पनि केही गल्ती भेटिए अनुसन्धान गर्नुस्, भनेको बताउनुभयो । “मैले प्रधानमन्त्री हुँदा नै प्रचण्ड दोषी देखिन्छ भने पनि नछाड्नुस्, भनेको थिएँ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस्, भनेर प्रहरीलाई निर्देशन गर्ने पहिलो प्रधानमन्त्री हुँ ।”
उहाँले लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको कुनै पनि देशमा नदेखेको टिप्पणी गर्नुभयो । अध्यक्ष प्रचण्डले २०६४ मा जस्तै मत आगामी निर्वाचनमा प्राप्त भएमा माओवादी पहिलो पार्टी बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०६४ यता हाम्रा पनि केही गल्ती भए, ती गल्ती हामी सच्याउँछौँ, अब हामीले २०६४ सालमा जस्तै मत पाए भ्रष्टाचार र सामाजिक विभेद अन्त्य गरी मुलुकलाई आर्थिक विकासतर्फ लैजाने छौँ, यसमा तपाईँले विचार गरिदिनुपर्छ ।”























