Breaking News

चितवनको काउली र बन्दामा लागेको रोगको पहिलो कारण विषादी

Banner

चितवन, माघ ६-

किसानले उत्पादन बढाउन रासायनिक विषादीको बढी प्रयोग गरेको पाइन्छ । जसका कारण किसानले लगाएको बालीमा क्षती पुग्न थालेको छ ।

विषादी बढी प्रयोग गरेकै कारण पूर्वी चितवनका केही किसानले लगाएको काउली र बन्दामा क्षती पुगेको छ । कृषि विकास कार्यालय चितवनका अनुसार विषादी बढी प्रयोग गरेका काउली र बन्दामा रोग देखिएको हो । बागवानी विकास अधिकृत स्वस्तिका चौहानले राप्ती नगरपालिका वडा नम्बर ८ र ५ का किसानले लगाएको काउली र बन्दामा देखिएको रोगको प्राथमिक कारण विषादी रहेको पुष्टि गर्नुभयो ।

‘प्रारम्भिक चरणमा विषादीको प्रयोग व्यापक भएर पातहरुमा चोट लाग्यो । चोटका कारण बिरुवाले खाना लिन सकेन । बिरुवा कमजोर भएको अवस्थामा चिस्यान दिनको लागि किसानहरुले बालीमा पानी लगाउनुभयो । पानी लगाएपछि चिस्यान बढ्दा बिरुवामा चोट अझ बढ्न गयो’ काउली र बन्दामा लागेको रोगको कारण बताउँदै चौहानले भन्नुभयो, ‘समग्र हिसाबले हेर्दा प्रारम्भिक तहमा विषादीको कारण र दोस्रो चरणमा चोट लागेपछि वातावरणको परिवर्तनले गर्दा खेरी ब्रोकाउली र बन्दामा ढुसी नासक रोग बढी लागेर बिरुवा मर्ने अवस्थामा पुगेको हो ।’

पूर्वी चितवनका किसानले लगाएको काउलीमा मंसिरको अन्तिम हप्तादेखि रोग देखिन थालेको थियो । अहिले त्यस स्थानमा किसानले काउली जोतिसकेका छन् । कार्यालयले बालीमा लागेको रोग पत्ता लगाउनका लागि पुस १२ र २१ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा रहेको रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो । उक्त प्रयोगशालाको प्रारम्भिक रिपोर्टले काउली र बन्दामा विषादीले रोग ल्याउने काम गरेको देखिएको उहाँले बताउनुभयो ।

कृषि कार्यालयमा रहेको माइक्रोस्कपले हेर्दा पनि विषादीको कारण बालीमा असार देखिएको उहाँको भनाइ छ । ‘हाम्रो ल्याभको रिपोर्टले पनि विषादीको करण रोग देखिएको देखाउँछ । माइक्रोस्कोपमा हेर्दा पनि अल्टनेरिया पाएका छौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रयोगशालामा हेर्दा पनि प्याथोजेनिट अल्टनेरिया नै देखाएको छ,’ उहाँले भन्नुभयो, ‘सेकेण्डरी इन्फेक्सनमा ढुसी लागेको पाएको छौँ ।’ पूर्वी चितवनका किसानले फेन्टासी जातका काउलीको हाइब्रिड बिरुवा लगाएका थिए ।

यो बिरुवा चितवनका लागि सूचिकृत समेत नभएको उहाँले बताउनुभयो । यो जात चिसोमा नभई गर्मी मौसममा लगाउँदा उपयुक्त हुने उहाँको भनाइ छ । २५ दिनभित्रका बिरुवा रोप्नुपर्ने उहाँले बताउनुभयो । पूर्वी चितवन तरकारीको पकेट क्षेत्रसमेत हो । यहाँ नयाँ प्रकारको रोगका कारणले गर्दा किसान मर्कामा परेका छन् ।
राप्ती नगरपालिका–८ बडहराका किसान शिवराज धरेलले राप्तीका सबै किसानले लगाएको काउली जातिका तरकारीमा यो रोग लागेको बताउनुभयो । रोगको लक्षण देखिएपछि कृषि विकास कार्यलय र नगरपालिकाको कृषि विकास शाखामा जानकारी गराएको उहाँले बताउनुभयो । अहिले बन्दा र काउलीमा सुरुमा पातको टुप्पो मरेको छ । त्यसको फलको आकार र ओजन नआउने र हेर्दा खान हुने जस्तो नदेखिने उहाँले बताउनुभयो ।

कृषि विकास कार्यालय चितवनकी बाली संरक्षण अधिकृत गीता केसीले यहाँ लगाइएका काउली, ब्रोकाउली र बन्दामा पात डढ्ने, कुहिने, फल ठूलो नहुने, पात डढ्ने र तन्कने अनि जरा समेत कुहिएकोे बताउनुभयो । एकदेखि अर्कोमा तीव्र गतिमा रोग सरिरहेको उहाँले बताउनुभयो । प्रारम्भिक रिपोर्ट अनुसार ढुसीजन्य रोग नै रहेको उहाँले बताउनुभयो । रोगको थप प्रमाणीकरण गर्न सङ्घीय प्रयोगशालामा आइतबार नमूना पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>