खेलकुद

भरतपुर मेयर्स कप क्रिकेटः अरोमा र स्टेप बाइ स्टेप विजयी, पहिलो चरणका खेल सकिए

०
Banner

चितवन, माघ ३–

ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (बिहीबार) भएका खेलहरुमा अरोमा इङलिस स्कुल र स्टेप बाइ स्टेप इङलिस स्कुल विजयी भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा अरोमाले इडेन गार्डेन स्कुललाई १३२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । अरोमाले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको इडेन गार्डेन ८.४ ओभरमा ४६ रनमै अलआउट भएपछि अरोमाले फराकिलो जित हात पारेको हो । इडेन गार्डेनका लागि प्रेम तामाङले सर्वाधिक १८ रन बनाए । अरोमाका लागि सौरभ बस्नेतले ३ र शिवम रिमालले ३ बल गर्दै २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटि गरेको अरोमा १९.३ ओभरमा १७८ रनमा अलआउट भयो । उसका लागि सुवास भट्टराईले २८, विगनेश थापाले २० रन बनाए । इडेन र्गोडनका सुरज पावेले २९ रन खर्चिएर ४ विकेट लिए । अरोमाका सौरभ बस्नेत प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै आजै भएको दोस्रो खेलमा स्टेप बाइ स्टेप इङलिस स्कुलले उषा इङलिस स्कुललाई ५ विकेटले पराजित गर्‍यो । उषाले दिएको १७७ रनको विशाल लक्ष्य स्टेप बाइ स्टेपले १७औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । जारी प्रतियोगितामा सर्वाधिक लक्ष्य पुरा गर्ने टिम स्टेप बाइ स्टेप बनेको छ ।

पहिले ब्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि अमृत गैरेले नटआउट ६०, उदय जोशीले ४५ रन बनाए । स्टेप बाइ स्टेपका रोजित उपाध्यायले २ विकेट लिए ।

यो खेलसंगै जारी प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएका छन् । पहिलो चरणमा विजयी भएका टिमहरु पुनः एकआपसमा भिड्ने छन् । त्यसबाट ५ टिम अन्तिम लिग चरणमा प्रवेश गर्नेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल भएका हुन् । तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>