खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः अरोमा र स्टेप बाइ स्टेप विजयी, पहिलो चरणका खेल सकिए

चितवन, माघ ३–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (बिहीबार) भएका खेलहरुमा अरोमा इङलिस स्कुल र स्टेप बाइ स्टेप इङलिस स्कुल विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा अरोमाले इडेन गार्डेन स्कुललाई १३२ रनको फराकिलो अन्तरले पराजित गर्यो । अरोमाले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको इडेन गार्डेन ८.४ ओभरमा ४६ रनमै अलआउट भएपछि अरोमाले फराकिलो जित हात पारेको हो । इडेन गार्डेनका लागि प्रेम तामाङले सर्वाधिक १८ रन बनाए । अरोमाका लागि सौरभ बस्नेतले ३ र शिवम रिमालले ३ बल गर्दै २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटि गरेको अरोमा १९.३ ओभरमा १७८ रनमा अलआउट भयो । उसका लागि सुवास भट्टराईले २८, विगनेश थापाले २० रन बनाए । इडेन र्गोडनका सुरज पावेले २९ रन खर्चिएर ४ विकेट लिए । अरोमाका सौरभ बस्नेत प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा स्टेप बाइ स्टेप इङलिस स्कुलले उषा इङलिस स्कुललाई ५ विकेटले पराजित गर्यो । उषाले दिएको १७७ रनको विशाल लक्ष्य स्टेप बाइ स्टेपले १७औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जारी प्रतियोगितामा सर्वाधिक लक्ष्य पुरा गर्ने टिम स्टेप बाइ स्टेप बनेको छ ।
पहिले ब्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि अमृत गैरेले नटआउट ६०, उदय जोशीले ४५ रन बनाए । स्टेप बाइ स्टेपका रोजित उपाध्यायले २ विकेट लिए ।
यो खेलसंगै जारी प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएका छन् । पहिलो चरणमा विजयी भएका टिमहरु पुनः एकआपसमा भिड्ने छन् । त्यसबाट ५ टिम अन्तिम लिग चरणमा प्रवेश गर्नेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल भएका हुन् । तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।