Breaking News
मह उत्सवमा दर्शकको उत्साहजनक सहभागिता, थरीथरीका मह चाख्न पाउँदा दर्शक खुसी
चितवन, पुस १३-
चितवन हात्ती महोत्सवमा प्रथम चितवन मह उत्सव जारी रहेको छ । बिहिबारबाट सुरु भएको मह उत्सवमा दर्शकको उत्साहजनक सहभागिता रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ चितवनले आयोजना गरेको मह उत्सवमा मह चाख्न र किन्नको लागि दर्शकको घुइचो लाग्ने गरेको हो । परियोजनाले नै निःशुल्क मह चखाएर किसानको उत्पादनलाई प्रवर्द्धन गरिरहेको छ । परियोजनाका प्रमुख महेश रेग्मीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखिएको छ । बजारमा नक्कली मह आएको अवस्थामा मह गुणस्तरबारे उपभोक्तालाई जानकारी समेत गराउने उद्देश्य राखिएको उनले बताए ।
‘वार्षिक कार्यक्रम बनाएर नै चितवनमा उत्पादन भएको महलाई प्रवर्द्धन गर्न मह उत्सवको आयोजना गरेका हौँ,’ उनले भने ‘यहाँबाट हामीले अन्तर्राष्ट्रिय स्तरका उपभोक्तालाई समेत नेपाली महको गुणस्तरबारे जानकारी दिन खोजेका हौँ ।’ हात्ती महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउने भएकाले महको उत्सव गरिएको उनले बताए । मह उत्सवमा स्वदेशी तथा विदेशी नागरिकको उल्लेख्य सहभागिता रहेको रेग्मीले जानकारी दिए । विदेशी पर्यटकले पनि अवलोकन गर्ने र मह चाख्ने भएकाले महको प्रवर्द्धन अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने उनले अपेक्षा गरे ।
स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्याउनका लागि मह उत्सव कार्यक्रम राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत रविकिरण अधिकारीले जानकारी दिए । परियोजनाले मह उत्सवमा १० वटा स्टल खरिद गरेको छ । त्यसमध्ये ९ वटा किसानलाई निःशुल्क उपलब्ध गराएको छ । मह उत्सव पुस १५ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा विज्ञहरूसँग महको गुणस्तर र उत्पादनको विषयमा गोष्ठी समेत गरिने अधिकारीले जानकारी दिए । मह उत्सवमा थरिथरिका मह निशुल्क पाउँदा दर्शक समेत खुशी देखिन्छन् ।
ललितपुरका रामकुमार पहाडी पहिलो पटक हात्ती महोत्सवको अवलोकन गर्न आएका थिए । महोत्सव परिसरभित्र छिरेका पहाडीको ध्यान हात्तीका गतिविधिभन्दा पहिले महको उत्सव तिर पुग्यो । महका पारखी समेत रहेका पहाडीले महको स्वाद समेत लिए । घरमा खानेभन्दा विभिन्न लागेपछि उनले मह खरिद गरे ।
‘यहाँको महको स्वाद निकै मिठो छ । अगार्निक रैछ । हात्ती महोत्सवमा मह पाईएला भन्ने सोचेको थिएन,’ महको स्वाद लिँदै गर्दा भेटिएका पहाडीले भने ‘अगार्निक मह पाउँदा खुशी लागेको छ ।’ बजारमा मिसावट मह पाइने भएकाले स्थानीय किसानले उत्पादन गरेको मह पाउँदा खुशी लागेको उनले बताए ।
महोत्सव परिसरको प्रवेशद्वारमै प्रथम चितवन मह उत्सव चलिरहेको छ । त्यहाँ निःशुल्क महको स्वाद लिएर हात्तीका खेल हेर्न दर्शक छिर्ने गर्दछन् । कपिले महसमेत किन्ने गर्दछन् । भरतपुर महानगरपालिका–५बाट हात्ती महोत्सव हेर्न पुगेकी निर्मला भट्टराई यहाँको महको स्वाद राम्रो रहेको बताइन् । ‘चितवनका किसानले उत्पादन गरेका थरिथरिका मह निःशुल्क चाख्न पाइयो,’ उनले भनिन् ‘जाने बेलामा किसानहरूको हौसला बढाउनका लागि पनि लगेर जान्छु ।’
मह उत्सवमा चिउरी, रुदिलो, तोरी, लिची, जामुन, फापर लगायतको मह निःशुल्क चाख्न पाइन्छ । फरक, फरक स्वाद लिन पाउँदा त्यहाँ गएकाहरू खुशी हुन्छन् । नवलपरासीबाट हात्ती महोत्सव गएका नमिस चौधरीले किसानको उत्पादनलाई प्राथमिकता दिएर स्टल राखेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनले किसानको उत्पादनलाई प्रवर्द्धन गर्न हात्ती महोत्सव परिसरमा ‘मह उत्सव’को आयोजना गरेको हो ।
चितवन मह उत्पादनमा अग्रणी स्थानमा छ । अहिले स्वदेशी महले बजार पाउन धौधौ भइरहेको छ । मानिसहरूलाई मह खाने बानी पार्नका लागि पनि मह उत्सव आयोजना गरिएको उनको भनाई छ । चितवनको मौरी जोन भित्र १२ हजार ५ सय घार छन् । त्यसमा ४ सय ६० मेक्टिक टन मह उत्पादन हुने गरेको उनले जानकारी दिए ।
मह मह उत्सवको उद्घाटन बिहीबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मह चाखेर गरेका थिए । सो अवसरमा मन्त्री सिंहले हात्ती महोत्सव भित्र किसानको उत्पादनलाई बजारीकरण गर्न उत्सव राखेकोमा खुशी व्यक्त गरे । परियोजनाले मौरीजोनअन्तर्गतका मौरी पालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो ।
स्वादमा मिठास, स्वदेशी महमा विश्वास भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जोन सञ्चालक समन्वय सुमति मौरी जोन चितवन, चितवन उद्योग संघ, रत्ननगर समिति, माौरीपालन विकास केन्द्र भण्डारा, नेपाल मौरी पालक महासङ्घ चितवन, कृषि विकास कार्यालय चितवन र रत्ननगर नगरपालिका कृषि शाखा चितवनको सहयोग रहेको छ ।