Breaking News
महिला यु–१९ विश्वकपको तयारीका लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु
चितवन, पुस १०-
महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।
आगामी जनवरीमा महिला यु–१९ विश्वकप मलेसियामा हुँदैछ । त्यसको तयारी स्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९का प्रमुख प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ब्याटिङ, बलिङ, फिटनेशलाई ध्यान दिने उहाँले बताउनुभयो । चितवनमा बन्द प्रशिक्षण गर्न पाउँदा आफुहरु उत्साहित भएको समेत बताउनुभयो ।
नेपाल क्रिकेट टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो । अहिले प्रशिक्षण भइरहेको मैदान प्रशिक्षणका लागि उपयुक्त नै रहेको उहाँको भनाई छ । प्रशिक्षणका लागि क्रिकेटसंघले आगामी दिनमा नेट जालि सहितको अभ्यास स्थल बनाउनुपर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली क्रिकेट टोली चितवन आएर अभ्यास गर्नु महानगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभएको छ । खेलाडीलाई स्वागत गर्दै मेयर दाहालले यहाँ भएको अभ्यास खेलबाट खेलाडिलाई थप उर्जा मिल्ने अपेक्षा समेत दिनुभएको छ । उहाँले विश्वकपमा विजयीको शुभकामना दिँदै महानगरपालिकाले बन्द प्रशिक्षणका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।
नेपाल क्रिकेट संघका उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको पहल र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो । उहाँले सन् २०२७मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको समेत बताउनुभयो ।
बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली रहेको छ । चितवन क्रिकेट सघका अध्यक्ष सुदीप पियाले प्रशिक्षणका लागि महिला यु–१९ क्रिकेटको टोली चितवन आउनु यहाँको क्रिकेटको विकासका लागि धेरै सहयोग पुग्ने विश्वास लिनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला दुई बर्षभित्र बनाई छाड्ने बताउनुभयो ।
यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि जनवरी ११मा मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ तारिकमा क्रमशः बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासंग प्रतिसप्रर्धा गर्दैछ ।