चितवन विशेष
नदी उकास जमिनलाई उत्पादनसँग जोड्नुपर्छः मन्त्री तामाङ

भरतपुर,पुस ८-
बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले नदी उकास जमिनलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनको नवनिर्मित भवन तथा एकीकृत सेवा प्रवाह कक्षको सोमबार भरतपुरमा उद्घाटन गर्दै मन्त्री तामाङले नदी उकास भएका जमिनलाई उत्पादनसँग जोड्न स्थानीय प्रशासन तथा जनप्रतिनिधि सबैको साथ आवश्यक रहेको बताउनुभयो । त्यसरी उद्यमीले उद्यमसँग जोड्ने नदी उकास जमिनलाई उत्पादनसँग जोड्दा अतिक्रमण गर्न भने नपाउने उहाँको भनाइ छ । केन्द्रमा भूमि आयोग गठन भएको भन्दै जिल्लामा एकदुई दिनभित्र आयोग गठन भएर भूमिप्रति रहेका समस्याहरु आयोगले समाधान गर्ने मन्त्री तामाङले बताउनुभयो ।
चितवनमा दूध, माछामासु, फलफूल र खाद्यान्नको राम्रो हुने भन्दै मन्त्री तामाङले यी व्यवसायहरुको अथाह सम्भावना भएको बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्नेगरी चितवनको भरतपुरमा स्थापना गर्न लागिएको कोशेली घरमा मन्त्रालयले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ । कोशेली घर निर्माणमा अपुग भएका विषयलाई समयमै पूरा गर्दै त्यसलाई सञ्चालनमा ल्याउने तयारीमा मन्त्रालय जुटेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले मन्त्रालयले सेवा प्रवाहमा सुधार गर्नका लागि चितवनबाट अभियान थालेको बताउनुभयो । अबको समयमा कार्यालयहरुबाट प्रविधिमैत्री सेवा प्रवाह गर्नुको विकल्प नभएको भन्दै उहाँले चितवनबाट डिजिटलाइजेसनको सुरुआत गरेको बताउनुभयो । अब विस्तारै प्रदेशका अन्य १२ वटै जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयलाई प्रविधिमैत्री बनाउँदै आवश्यक सेवा थप गर्दै लैजाने तयारी गरिएको उहाँको भनाइ छ । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सबै सेवाहरु एउटै कोठाबाट उपलब्ध गराउनेगरी एकीकृत सेवा प्रवाहको शुभारम्भ गरिएको बताउनुभयो । सेवाग्राही एउटा कोठामा प्रवेश गरेपछि त्यही कोठाबाट उद्योग दर्ता, नवीकरण, पुँजीवृद्धि, खारेजीलगायतका सबै काम सम्पन्न हुने पौडेलले बताउनुभयो ।