Breaking News
सहकारी ठगी प्रकरणः म्याद थपका लागि रविलाई अदालत लगिँदै

काठमाडौं, मंसिर २३-
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज आइतबार अदालत लैजाने भएको छ । कास्की जिल्ला अदालतले मंसिर ९ गते दिएको १५ दिनको म्याद थप आइतबार सकिँदैछ । उनीमाथि अनुसन्धान नसकिएकाले पुनस् म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका रविलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।
यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ । रविका साझेदार एवं गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले सहकारी ठगीको मुख्य आरोपी बनाएर मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अर्का आरोपी नेपाल प्रहरीका पूर्व डीआइजी एवं गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशी बञ्जाडेलाई पनि मतियारकै रूपमा मुद्दा लैजाने तयारी रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
ती अधिकारीले भने,‘कास्कीको हकमा सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, सम्पत्ति शुद्धीकरण, किर्ते र संगठित अपराधमा म्याद थप भएर अनुसन्धान भएकाले मुद्दा बुझाउन अझै केही दिन लाग्ने देखिन्छ ।’
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका रविले चार जिल्लाहरू क्रमशः कास्की, रुपन्देही, चितवन र काठमाडौंमा इन्कारी बयान दिएका छन् । तर, प्रहरीले फेला पारेका प्रमाणलाई उनले चित्तबुझ्दो जवाफ नदिएकै कारण अदालतले म्याद थप गर्दै आएको ती अनुसन्धान अधिकृतले बताए । जिल्ला अदालत पर्साबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसकारण उनलाई बयानका लागि पर्सा पनि लैजाने प्रहरीको तयारी छ।
‘कास्की प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अब रविलाई पर्सास्थित सरकारी वकिल कार्यालयमा बयानका लागि पठाएर पुनः कास्की ल्याएपछि मुद्दा बुझाउने तयारी हुन्छ’, प्रहरी प्रवक्ता, डीआईजी दानबहादुर कार्कीले भने ।
























